मायाको कथा

 “माया ओइ माया.......

सुन्दिनस कि के हो ?”
“हजुर मैसाब...”
“ला यो लुगा सुकाएर आइज त ”।
“मैसाब भाडा मोलिसकेको छैन...”
“ल हेर यो मुखमुखै लागेकी, यहाँको भात पुगिसक्यो कि के हो यसलाई । अघि खाना घिच्नुअघि नै लुगा सुकाउनु पर्दैन ? उसैले काम बिगार्छे फेरि उसकै पो ठुलो स्वर छ त है ”।
माया हात धोएर लुगा सुकाउन जान्छे ।
बिहान उठ्ने ३ तलाघर पुरै सफा गर्ने, खाजा बनाउने, ख्वाउने, भाडा मोल्ने । त्यसपछि खाना बनाउने सुरसार गर्ने । पकाएर सक्दा ११ बज्छ । खाना ख्वाएर किचन सफा, भाडा मोल्ने काम गरिसक्दा दिउँसोको १ बजिसक्छ । त्यतिबेलासम्म २,३ जोर लुगा धुनको लागि तयार भइसक्छ । मायाको दैनिकीमा कहिलेकाही फेरबदल हुन्छ । कहिलेकाही खाना पकाएर लुगा धुने काम सुरु हुन्छ । आज पनि लुगा खाना खानु अघि धोएकी थिइ मायाले तर सुकाउन जानेबेलै जोनीलाई आची गराउन सँधैं लैजाने घरनजिकैको चौरमा लगेकी थिइ । घर आइपुग्दा मैसाब, मालिकसाब खान लागिसकेका थिए त्यहि भएर ऊ पनि खान बसि । त्यहि भएर खाना खाइसकेकी मैसाबले बाथरुममा लुगा देखेर चिरिएकी थिइन ।

मायाको दिन बित्न कत्ति पनि समय लाग्दैन । घरको धन्दा सुरु भएर रातपर्न कत्ति नि बेर लाग्दैन । आज पनि मायाको दिन एकै सासमा बित्यो ।
माया बेला बेला घर छेउको खोला अनि खोलामा बगेका झिङ्गे माछा सम्झिन्छे । गोविन्दे, लाले, रामे अनि रिता लाइ पनि सम्झिरहन्छे ।
बाउआमालाई त हरेक दिन सम्झिन्छे ।

आज मायालाई निन्द्रा परेको छैन । ऊ एकपल्ट त्यहि दिन सम्झिन्छे । जुन दिन ऊ सँगै उसकी प्यारी साथी रिता दिनभरि उसको अघि र पछि दौडिरहेकी थिइ ।
उसको मनमा के बितेको थियो मायालाई सबै थाहा थियो । जाडोको दिनमा लागेको पारिलो घामले पनि तातो दिन सकेन । दुबैको मन कठ्याङ्गिइरहेको थियो । माया अनि रिता दुबैलाई साँझ नपरे पनि हुन्थ्यो जस्तै भाको थियो । तर ती अबोध बच्चाले भनेको जस्तो कहाँ छ र सृष्टी ।
कालो अँधेरो साझले मायालाई रितादेखि टाढा लग्यो । हजुरआमाको कालो बर्को ओढेर, पिलपिल आँसु झार्दै गाडीसम्म छोडन आएकी रितादेखि हरेक सेकेण्ड माया टाढा जाँदैथिइ । गाडीको रफ्तार, अँधेरो कालो रात अनि झ्यालबाट छिरेको चिसो सिरेटो, सबैले मायालाई नयाँ संसारमा हुत्याउँदै, लतारर्दै, घिसार्दै लगिरहेका थिए । उसको अनुहारमा आएर जोडले ठोक्किने बतासले मायालाई पोलिरहेको थियो ।


हिजो बिहानसम्म थाहा थिएन मायालाई उसले जम्मा ४० घरधुरी उसको प्यारो गाँउ छोडेर जान्छे भनेर ।
खाजा खाएर खोला नजिकैको चौरमा सँगै खेल्न गएका रामे, गोविन्दे र लाले घर फर्किएपछि पाटेघाँसको झ्याङमा आची गरेर खोलामा आची सफा गरेर भात खान घरतिर दौडिदै गर्दा पनि उफ्रिदै रमाउँदै दुवैजना भन्दैथिए भोलि पनि चाडै खेल्न आउने है भनेर ।
तर मायाको घरमा कोको नचिनेको मान्छे आएर मायालाई पश्चिम लैजाने भन्दै गर्दा पो माया झसङ्ग भएकी थिइ ।

अघिसम्म हात समाउँदै दौडदै सँगै आएकी रिता हात समाएर फेरि खोलातिर दौडन मन लाग्यो मायालाई । र खोलाको किनारै किनार भाग्दै टाढा जान मनलाग्यो उसलाई ।

अस्ति अस्ति घरमा साँझसम्म पनि नआइपुग्दा राति खाना खानेबेला आमाले मायालाई भनेकी थिइन, यस्तै ताल हो भने तलाइ नारायणी कटाउँछु । नभन्दै आज उसको घरमा उसले सुन्दै नसुनेको ठाउँ नवलपरासीबाट उसलाई लिन उसले कहिले पनि नसुनेको र कहिले पनि नदेखेको मामाको साथमा आमाले मायालाई पठाउँने कुरा गर्दैछिन ।
आमा जिस्केजस्तो लाग्यो मायालाई, भोक लागेको थियो एक सासमै एकथाल भात रित्याई । खाना खाइसक्ने बितिक्कै माया आमाको आँखा छल्दै रिताको घरतिर दौडिन लाग्दैथिइ उसकी आमाले देखिहालि ।
“होइन यो अलच्छिनाले अघि मैले भनेको सुनिन के हो ? भोलि मामासँग काउसति जाने भनेको होइन , फेरि किन तेरि आमाको घरतिर दौडेकी ? यता आइज अब त नुहाउनुपर्छ । यतिकै भोलि पठायो भने त्याँ मैसाब रिसाउनुहुन्छ ”।

सँधै रुखो स्वरमा बोल्ने आमाको मनमा कता कता माया होला जस्तै लाग्ने मायालाई आज आफ्नै आमा पनि वनराक्षेस्नी जस्तै लागि मायालाई । जान्न आमा कतै पनि भन्दै रुन थालि । आमाले ढुङ्गाले घोटेको रातो ढाड सेतो भयो तर मायाको रुवाइ रोकिएन । हिक्क हिक्क गदैं बरान्डामा साँझसम्म यतिकै बसि तैपनि आमाको मन फिरेन ।

काउसति गएर लाउने लुगा आमाले पोको पार्दिन । भोलि साँझ जानेबेला लाउने लुगा पनि छुट्याइदिइन । कट्टुमात्र लाएर दिनभरी बराण्डा रुँदै बसेपनि रिताले सुख पाइन । आखिर ऊ उसले नदेखेको संसारमा जान नै पर्ने भयो । साँझ रिता आई मायालाई भेट्न सदाजस्तै ।

हरेक बिहान अनि हरेक साँझ माया र रिता सँगै हुन्छन् । बिहान उठ्ने बितिक्कै कतिखेर एकअर्कालाई भेट्ने छटपटि हुन्छ अनि साँझ छुट्नै नपरे नि हुन्थ्यो भन्ने हुन्छ दुवैलाई । दुवैलाई एउटै घरमा सँगै बस्न पाए नि हुने नि एकदिन भएपनि जस्तै लाग्थ्यो । दिनभरी त उनीहरु सँगै हुन्थे, ती बालाखाको मनमा यो पनि विचार आउथ्यो राती पनि सँगै हुन पाए ।

रिताको बुवा अलि रिसाहा र गाली गरिहाल्ने प्रवृतिका छन् । रितालाई औधी माया गर्छन त्यहि भएर जो पायो त्यहिसँग बोल्न नि दिदैनन अनि खेल्न नि दिदैनन् । मायालाई पनि त्यति मनपराउँदैनन रिताको बुवा तर रितालाई माया बिना भातको गाँस पनि निल्न गाह«ो हुन्छ । जति भनेपनि नमान्ने छोरीको जिद्दीको अगाडि केही सिप नलागेपछि भने उनीहरु यसरी सँगै खेल्न पाएका छन् । बिहान एकछिन अनि साँझ एकैछिन माया र रिता भेट्छन, खेल्छन, गन्थनमन्थन गर्छन ।
रिताको बुवाको छेउ पर्न पनि डराउछे माया त्यहि भएर रिता नै मायालाई भेट्न, खेल्न उसकै घरमा आउँछे । राती सँगै सुत्न पाएपनि हुन्थ्यो नि भन्ने यी दुईले एक अर्काको घरमा राती जाने जुक्ति धेरै लाउँथे तर कहिल्यै पनि जुक्ति सफल भएन ।

मायाको घरमा रिता आउने कुरा त सपनामा पनि नसोच्दा हुन्थ्यो अनि फेरि रिताको घरमा सुत्न त कि त रिताको घरमा बुवा नभएको बेला पर्नुप¥यो । यस्तै मौका पर्खिरहेका यी दुईको सपना पुरा हुने एउटा रात पनि आयो । रिताको बुवा कामको सिलसिलामा साँझपख घरबाट हिडेका थिए अनि आज आउँदिन भोलि बिहान खाना खाने गरि आउँछु भनेर गएका थिए ।

त्यो रात रिता र मायाको सँगै बस्ने सपना साकार हुँदैथियो । मायालाई घरबाट निस्किन धेरै बहाना बनाउनु पर्दैनथ्यो । अनि रिताको आमालाई पनि फकाउन धेरै गाह«ो भएन । माया खाना खाएरै रिताकोमा आई राती अँधेरो भइसकेको थियो । मायालाई पु¥याउन उसकी दिदी आउने भई फेरि दिदीलाई घरसम्म पु¥याउने साथी पनि उनीहरुले साँझपखनै खोजिदिएका थिए ।
लाले, गोविन्दे अनि रामे पछिपछि माया र दिदी अघिअघि हिँडे । मायाको घरबाट रिताको घरसम्म जम्मा २०० पाइला पनि थिएन होला तर चोरजस्तै गरि यिनीहरु रिताको घर पुगे । रिता पनि खाना खाएर पिँडीमा कुरेर बसेकी थिई । माया दिदी अनि रामे, लाले र गोविन्दे सहित आइपुगि ।

रातको ९ बज्दा सबैको घरको टुकी निभिसकेको थियो । भोलिबिहान चाँडै घर आइज है भन्दै मायाकी दिदी घरतिर फर्किन लागि ऊ सँगै लाले, रामे अनि गोविन्दे पनि पछिपछि गए ।
रिता र माया पनि खुसुक्क ओछ्यानतिर लागे । माया र रिताको खुशिको सिमानै भएन । अघि साँझनै रिताले मिनमिन चाउचाउ किनेर ल्याकी रैछ । कसैले देख्छ कि भनेर आमाको सारीको टुक्रमा पोको पारेर खाटमुनि राखेकी रैछे । अँध्यारोमै छामछामछुमछुम गर्दै उसले चाउचाउको प्याकेट फोडि अनि अँधेरोमै कुडुम कुडुम चपाउँदै खाए ।
भोलि बिहान पहिला त घर जा अनि म पछि आउँछु अनि खोलामा खेल्न जानुपर्छ है भन्दै रिताले भन्दैथिइ । हुन्छ भनेर मायाले चाउचाउ कुडुम्म पारेर चपाउँदा उता बाहि भुडुम को आवाज आयो ।
“ला.... बाबा आउनुभयो तँ भाग । ”
रिताले आत्तिदै जुरुक्क उठेर भन्दा मायाको सात्तो गयो । ऊ हत्त न पत्त अँधेरोमा बराण्डाको चप्पल लगाएर कुलेलम ठोकी ।
अघि एकछिन अगाडि सम्म सेनामेना लिएर रिताको घर पुगेकी माया एकैसासमा घरभित्र मात्र होइन ओछ्यानमै पुगेर मात्र लामो सास फेरि ।

दिदी निदाइसकेकी रैछे,माया आएको थाहा पाइन । त्यो रातको घटनाले दुवैको सातो लगेको थियो । सँगै सुत्ने सपना त्यसपछि कहिले सँगै नहुने सपना बनेको थियो दुवैको लागि ।

आजको रात पनि नमिठो हुँदैथियो दुवैको लागि । उनीहरु सोच्दैथिए यहि हो हामी सँगै हुने अन्तिम रात । बालखा मनमा केनै धेरै कुरा खेल्छन होला र ? तैपनि रिताले यति भन्न भ्याएकी थिइ । “तँलाई म चिठी लेखेर पठाउँछु अनि तँ पनि पठा है” । कहाँबाट चिठी पठाउने अनि कसको हातमा पठाउने त्यो दुवैलाई थाहा थिएन तर पनि ती कलिला ओठमा थोरै खुशी देखियो ।

मायाले भनि “चिठी पढ्न पाउँने कहिलेकहिले हो । ऊ त्यो आकाशको तारा हेर है सँधै, म पनि हेर्छु”। पुर्वी दक्षिणतिर हात तेर्साउँदै मायाले लस्करै ३ वटा माथिबाट तलतिर लहरै लागेर टक्क अडिएका ताराहरु देखाई । रिताले पनि हुन्छ भन्दै टाउको हल्लाइ अनि भनि “सँधै राती सुत्नेबेला तारातिर हेर्दै गफ गर है म पनि त्यसै गर्छु” । दुवैजना अँगालो हाल्दै नमिठो रोए । अनि एकअर्काको आँसु पुच्दै अघि मायाले देखाएकी तारा हेरे ।
“अब तैले र मैले कति एकअर्कालाई कति माया गर्दा रैछौ भनेर नि थाहा हुन्छ बुझिस ?” मायाले रिताको कानमा फुस्फुसाई तातो सासले उसलाई काउकुति लाग्यो । अनि लाडे पल्टिदै भनि “कसरी ?”
“मलाई बाडुल्की लाग्यो भने मैले थाहा पाउँछु कि तैँले मलाई धेरै सम्झेकीछेस भनेर अनि तँलाइ बाडुल्की लाग्यो भने तैले पनि थाहा पाउँछेस मैले सम्झेको छु भनेर ।”
कहिलेकाही आमाहरुको कुरा सुन्दा थाहा पाएकी थिइ रिताले पनि, बाडुल्की लाग्यो भने कोही माया गर्ने मान्छेले सम्झेको हुन्छ अरे भन्ने । आज मायाको कुराले उसलाई साँच्नै नै हो भन्ने लाग्यो । अब भने रिता अनि मायालाई एकअर्कासँग छुटेर पनि बाँच्ने आधार मिलेको थियो ।

दुवैजना मायाको भान्छाघरमा गुनुगुनु गफ गर्दै थिए । यतिकैमा रिसाको अनि ठुलो स्वर दुवैले सुने अनि झस्किए । “रिता..ओइ रिता.., भाउजु रिता याँ आकी छे ?”
दुवैको हंश उडेजस्तै भयो । बुवाको आवाज सुनेर रिताको सातो गयो ।
उनीहरु दुवैलाई थाहा थियो कि रिताको बुवाको पाइला भान्छाघतिरै लम्किदैथियो । मायाकी आमा मुलघरबाट निस्किदै “रिता यतै छे“ भनेर भनिन् ।
“यति रातिसम्म पनि घरमा नआएसि खोज्दै हिडेको भाउजु, सबैको घरघरमा पस्दै, खोज्दै हिँडेको म त ।” रिताको बुवा अझै रिसाएर बोले ।
“भैगो नि त बाबु अब भोलि माया काउसति जाँदैछे । दुइजना एकैथालमा भात खाएर हुर्केका हुन । एकैछिन छुट्टिन मान्दैनन । अब भोलि माया जाँदैछे । अलि दिनमा त भेट्न नि आउँछे । यिनीहरु बच्चालाई चाहि अब कहिल्यै भेटै नहोला जस्तो भाको छ बाबु । अघि त रुँदैथिए क्यार, मैले पनि केही भनिन रोउन भनेर छोडिदिए । अहिले यतिकै बसिराछन भान्छाभित्र । ”
मायाकी आमाले यति भनेपछि रिताको बुवाको रिस शान्त भयो ।

“अनि कोसँग पठाउन लाग्नुभयो त भाउजु मायालाई यति टाढा । झण्डैझण्डै बुटवलनै पो पु¥याउन लाग्नुभो त भाउजु छोरीलाई ?” काठको पिर्का तान्दै रिताको बुवा गफ गर्न लागे ।
मित भाइ आको छ बाबु । अब दशैँतिहार सकियो क्यार । पढ्न नि तेति जाँगर छैन यसको । अब ४,५ वर्षमा त ज्वाइँको घर लखेट्न परिहाल्छ । गरिबको कोखमा जन्मिकीछे के गर्छे अरु एसले । घरको काम सघाउँछे , पढ्छु भनि भने पढाउँछु भनेका छन रे बाबु ”। सिन्काले दाँत कोट्याउँदै मायाकी आमाले भनिन् ।

“खै भाउजु आमाबुवाका काखमा हुर्किदा त कति पिरचिन्ता हुन्छ । त्यति टाढा माया मारेर पठाउन लाग्नुभाछ, आँखाले नदेख्ने ठाउँमा के गर्छन गर्छन नि । तपाई पुग्नुभाछ त भाउजु ?” रिताको बुवाले चिन्ता व्यक्त गर्दा माया र रिता दुवै झनै रोए भित्र कसैले सुइको नपाउने गरि । तर यो पटकको रुवाइमा रिताको बुवाले मायाको चिन्ता गरेकाले उनीहरु रोएका थिए । उनीहरुलाई सँधैँ यहि लाग्थ्यो कि रिताको बुवाले मायालाई देखिसहदैनन् तर त्यस्तो होइन रैछ ।

“लौ बाबु अब मैले देखेजस्तै त होनि । म यहि पर गाडीमा १ घण्टा पनि नलाग्ने सप्तकोशी त जम्मा २ चोटी कटेको छु । काउसति त कति टाढा कति टाढा नि कहाँबाट पुग्नु त्यति परसम्म त ? तै पनि साख्खे मितभाइको हातमा जिम्मा लाएर पठाउँदैछु । त्यहिपनि छोरी गएपछि मेरो बाटो खुलिहाल्यो बाबु चैततिर जाम्ला नि म पनि काउसति ।”मायाकी आमाले हाँस्दै भनिन ।

“आमा चैतमा आउने रे चिठी पठा है” । मायाले यति भनि सक्दा रिताले पनि भन्न भ्याइसकेकी थिइ “म चैतमा तलाई चिठी पठाउँछु” ।
लौ भाउजु छोरी तपाईकै हो मैले के भनौ र खै ? हिड रिता घर जाम, बाहिर निस्की । दुवै घुँडामा हातले टेक्दै उठेर रिताको बुवाले भने ।
रिता बाहिर निस्की र डराइडराइ बुवाको दाइने हातको चोर औला समाइ र बुवाको पछि लागि ।

“भोलि कतिबबेला हो भाउजु छोरीले गाडी चढ्ने म पनि निस्किउला” मायाको घरको आँगन कटिसक्दा रिताको बुवा चिच्याए ।
“साँझ ५ बजे रोडमा पुग्नुपर्ने रे बाबु” मायाकी आमा भान्छाघरको ढोका लगाउँदै चिच्याइन ।

मायालाई निद्रा परेको थिएन । भोलि बिहान कतिबेला होला र रिताले फोटो ल्याउली भन्ने मात्र भाको थियो मायालाई । अघि बाहिर मायाको आमा र रिताको बुवा कुरा गर्दा यी दुइले भने एकअर्काको फोटो साटासाट गर्ने भनेर सल्लाह गरेका थिए । माया सोच्दासोच्दै निदाइ ।

“बिहान ७ बजिसक्दा पनि माया नउठेपछि आमा चिच्याइन, होइन यो माया अझै उठेकी छैन ? राती कुनबेला सुतेकी हो र यो ?” आमा चिच्याएपछि मायाको निद्रा खुल्यो ।
आँखा मिच्दै बाहिर आइ, बराण्डामा हाइ काड्दै थुचुक्क बसि । उसकै सिधा अगाडी जुल्फी पालेको, हातमा सेता औठी भिरेको काले मरन्चासे अधबैसे मान्छेले अम्खराको पानीले जुल्फी हल्लाउँदै मुख धोएको देखेर पो माया झल्यास्स भई यो त उसको अन्तिम बिहानी हो जहाँ ऊ आफ्नै ओछ्यानमा सुतेर उठेकी छे । भोलिदेखि त उसको बिहानी अर्कै हुँदैछ ।

उसलाई झन दिक्क लाग्यो । मुख पनि नधोइ फेरि भित्र गई । राती बाकसबाट आमाको सारीको टुक्रामा जतनसाथ मिलाएर राखेको फोटोमध्ये आफ्नो फोटो निकालेकी थिइ । त्यहि फोटो आफुले लाएको जामाभित्रको कट्टुभित्र हालि । अनि रिता कुनबेला आउली र खोलातिर जाउला भनेर कुरेर बसि । आज उनीहरु फोटो साटासाट गर्नमात्र खोलातिर जान लागेका हुन ।

एकछिनमा रिता आइ । उनीहरु आँखैआँखामा कुरा गरेर खोलातिर दौडिए । अलि पर पुगेर रिता टक्क अडिइ । अनि भनि “माया आज खोलामा नजाम ल । तँलाई पु¥याउन पनि जानुपर्छ भरै । अनि अहिले यता आको थाहा पाउनुभयो भने बाबाले मलाई साँझमा तँलाई गाडी चढाउन जाँदा लैजानुहुन्न” ।

यति भन्दा माया पनि केहि बोलिन । उनीहरुले फटाफट कट्टुभित्रको फोटो झिके ।
मायाले फोटोमात्र दिई । तर रिताले कागजमा पोको पारेर ल्याएको फोटो अनि अर्को सानो कागजको पोको पनि दिइ अनि भनि “हिजो राती लेखेको चिठी हो । तँ उता पुगेपछि पढ है । अहिले नपढ ल लाज लाग्छ मलाई । मत घरमै हुन्छु । तँ त टाढा पुग्छेस, एक्लै हुन्छेस । मेरो याद आयो भने यो चिठी पढ्नु अनि फेरि तँलाई चैतमा अर्को चिठी पठाइहाल्छु नि” । यति भन्दा रिताको आँखामा आँसु पिलपिल भयो । उसले मुटु दह«ो पारि अनि लामो सास फेरि ।
त्यसपछि दुवैजनाले एकअर्काको साटेको फोटो फेरि कट्टुभित्र हाले मायाले चिठीको सानो पोको हातमा समाइ अनि दुवै दगुर्दै घरतिर लागे । माया घरको आँगनमा रोकिइ तर रिता कतै नहेरि कट्टुभित्रको फोटो खस्छ कि भन्दै समाउँदै दौडिइ ।

दिउँसो भात खाएर घरमा सबैको आँखा छलेर रिता मायाको घर आई । आँगनमा गन्थनमन्थन गर्दै मायाको आमा, बुवा, दिदी, भाइबहिनी, मितमामा सबै थिए तर माया त्यहाँ थिइन । मायाकी आमाले रितालाई देखेर भनिन , “ऊ आई मायाकी मितिनी ”। सबै गललल्ल हासे तर रिताको न्याउरो अनुहारको रँग फेरिएन ।

रिता आएको थाहा पाएर माया बाहिर निस्की अनि मायालाई भित्र बोलाई । भित्र मायाले पनि रिताको लागि चिठी लेख्दैथिइ । मायालाई शुद्ध अक्षरमा लेख्न आउँदैन । लेखेर सकिन लागेको रैछ । रितालाई देखाउँदै लेख्न लाज लाग्यो अनि बाहिर निस्की । त्यसपछि गोठतिर गई । रिता पनि मायाको पछिपछि गोठतिर गई । गोठको बाहिरै बसि रिता , एकछिनमा अलिअलि लाज, डर, माया सबै भाव एकैचोटी प्रष्ट रुपमा देखिने अनुहार लिएर माया गोठबाहिर आई अलि रिताको हातमा खुसुक्क चिठी थमाईदिई । त्यसपछि रिता गोठभित्र छिरी अनि चिठी कट्टुभित्र हालेर बाहिर निस्कीइ । अनि फेरि दुवैजना घरतिर आए । भित्रबाहिर, गरेका यी दुई मायाको आमाले गिज्याउँदै भनिन, “यिनीहरुलाई एउटै केटो खोजेर पठाउनुपर्छ पछि” ।
मायाले भित्र कोठा रितालाई लगि अनि एकछिनमा यो लुगा लगाउने भनेर देखाई । दशैँमा किनेको लुगा लगाउन लागेकी रैछ ।

एउटै लुगा परेका रैछ दुवैको दशैँमा पनि । बुबाले किनिदिएको जामा लगाएर दशैँमा टिका थापेर गाउँमा निस्किदा एकअर्काको लुगा एउटै देखेर दुवै लजाएका थिए । आज त्यहि लुगा मायाले लगाएर जाँदैथिइ ।

माया र रिता भित्र र बाहिर गर्दा गर्दै दिन ढल्नै लागेको थियो । ४ बजिसकेको थियो । ५ बजे त रोडमा निस्किनुपर्ने थियो । माया लुगा लगाएर तयार हुने बेला भयो । रिता पनि घरतिर दौडिइ ।

५ बज्न १५ मिनेट बाँकी हुँदा माया आमाको हात समाउँदै रोडतिर जाँदैथिई । उसको झोला मितमामाले बोकेको थियो ।
“भाउजु जाँदैगर्नु हामी पछिपछि आउँछौं” भनेर रिताको बुवा चिच्चाए ।
मायाको आमा पनि “हुन्छ बाबु छिटो आउनु है” भन्दै अघि बढिन । माया पनि आमासँगै हिडिरहि फर्केर एकचोटी मायालाई हेरि, मायाले पनि हेरिरहेकी थिइ । गारेटो बाटोको घुम्तीबाट ओझेल परि माया ।

रोडमा सबैजना गाडी कुरिरहेका थिए । सबैको ध्यान पुर्वबाट आउने गाडीतिर ध्यान थियो तर माया भने भर्खरै छोडेर पारिपट्टि आएको गोरेटो बाटोलाई हेरिरहेकी थिइ । रिताको बुवाले ढाट्नुभयो कि बिर्सिनुभयो कि ? किन यतिबेलासम्म नि आउनुभएन भनेर मायालाई छटपटि भयो । यतिबेलासम्म त साँझ पर्लापर्ला जस्तो पनि हुनलाग्यो गाडीले परबाट बत्ति बाल्दै आयो ।

रिताको बुवाले पारिपट्टिबाट भन्नुभो “गाडी आयो” । मायाले पुर्लुक्क पारिपट्टि रितालाई हेरि ।
बुवाको हात समाउँदै रोड पार गरेर रिता मायाको छेउमा आई । रिताले पनि दशैँको लुगा लगाएकी थिइ । कसैले केही भन्छन कि नयाँ लुगा लगाएको भनेर हजुरआमाको बर्को ओढेकी थिइ । हल्का चाडो पनि सुरु हुन लागेकोले बर्को ओढ्दा कसैले ख्याल गरेनन । माया भने मनमनमै खुशी भई ।
गाडी झ्याप्प रोकियो । मायालाई मामाले उचालेर गाडीमा चढाए अनि आफुपनि चढे । मायाले गाडी चढेपछि फर्केर हेरि । रिताको आँसु खसेको देखि , हात हल्लाई । रिताले पनि हात हल्लाई ।
मायाकी आमा चिच्याइन, “राम्रोसँग जानु अनि भान्जीको ख्याल गर्नु है भाई” । यति भनि नसक्दा गाडी हुँइकियो ।
माया एकएक सेकेण्डले सबैदेखि टाढा भइ ।

वर्षौ भयो माया घर नफर्किएको, गाउँ नदेखेको, रितालाई नभेटेको ।
जीवनको पन्ध्रवर्ष वित्यो, ऊ ७ वर्षबाट २२ पुगि । कावासोती, नवलपरासीबाट काठमाडौं आई । मालिकले मैसाब फेरे, बस्ने घर फेरे, गाडी फेरे तर पुर्वबाट पश्चिम, र पश्चिमबाट राजधानी भाडा मोल्दै अनि लुगा धुँदै मालिक र मैसाबको पछिपछि हिडेकी पुर्वेली मायाको भाग्य फेरिएन । कट्टु पनि नलगाइ नाङ्गै पारेर खिचेको रिताको ६ महिना हुँदाको फोटो हेर्दै अनि कलिला ती हातले लेखेर दिएको जुन छेउछेउमा च्यातिएको र अक्षर पनि धमिलो भइसकेको चिठी माया आज पनि पढ्छे अनि रितासँग गफ गर्दै रुन्छे ।

ऊ अक्षरका मेटिएका डोब पनि स्पष्ट पढ्न सक्छे । उसलाई हरेक हरफ कण्ठ छ । हरेक शब्दका भाव स्पष्ट बुझ्छे । उसले तारा पनि हेर्न भुलेकी छैन अनि बाडुल्की गन्न पनि छाडेकी छैन । रितालाई फेरि भेट्ने आशामा रमाउन पनि भुलेकी छैन ।

“ओइ नक्कली, अझै तेरो बिहान भाको छैन ? ६ बजिसक्यो, उठेर घर सफा गर्लि र पुजा गरुला भनेको त दिनै बिताइदिन्छेकी के हो ?”
“ला हिजो राती मैसाबले भोलिदेखि सोह«श्राद्ध सुरु हुन्छ बिहानै घरसफा गर्नु भाको थियो भुसुक्कै भुलेछु

Comments