आज पनि साँझ छिप्पिएर रात भइसक्यो ।
अचेलका साँझ पहिलेका जस्ता छैनन् ।
दलालको खम्बामा अढेस लागेर लाले टोलाइरहेको छ । कुनैबेला ऊ सुस्केरा हाल्छ , कुनैबेला बिँडीको रातो टुप्पोले जिब्रो च्वास्स पोल्छ । आज पनि लाले मंगलीलाई सम्झिदैछ ।
अस्ताउँदै गरेको लालेको जिन्दगीको निभ्दै गरेको खुशी भनेकै मंगलीको बुलाकी पछाडिको थोते दाँतको हाँसो हो । तर खै ति हाँसो ? झण्डै वर्षदिन हुन लाग्यो लालेले त्यो हाँसो नदेखेको पनि ।
मंगली हराएकी पनि वर्षदिन बित्न लाग्यो । नखोजेको पनि होइन तर खै पुलिसले फेला पार्नै सकेनन् । हुन त दिनदुखीका पिडाले कसलाई पो पोल्छ र ? मंगली सोझी थिइ । उसलाई लाले बिना कतै हिँड्न मन लाग्दैनथ्यो । त्यो दिन पनि मंगली बिराटनगरको बसपार्कमा अँधेरो अनुहार लाएर गाडी चढेकी थिइ भनेर नातिनीले भनेको कुरा लाले बेला बेला सम्झिरहन्छ अनि बेकारमा मंगलीलाई हतार गरेर घर बोलाएको बरु छोरी ज्वाँइकोमा अलिदिन बस्न दिनुपर्ने रैछ भनेर एक्लैएक्लै कत्ति रुन्छ ।
कटारीको चोकमा १२ घण्टासम्म आफ्नी बुढी कुरेर बसेको लाले तबमात्रै झस्कियो जब उसकी छोरीले आमा हराउनु भयो भनेर ड्राइभरको फोन आएको खबर लालेलाई सुनाई । कहिले पनि एक्लै कतै नहिडेकी मंगली लहानसम्म त गाडीमै थिइ भनेर गाडीको खलासी, ड्राइभरले भनेका थिए ।
‘हजुरबुवा खाना खान आउनु, मैले पस्किसके’ नविना भान्साबाट चिच्याएपछि लाले झसङ्ग हुन्छ ।
लालेलाई अचेल कसैसँग पनि त्यति बोल्न मन लाग्दैन । बुवा एक्लै हुनुभयो भनेर छोरी रमाले नातिनी पठाइदिएकी छे । कान्छो भाइ विदेशबाट नआएसम्म बुवालाई खाना बनाएर खुवाओस भनेर रमाले एसईई दिएर बसेकी छोरीलाई बुवासँग राखिदिएकी छे । धन्न नातिनी भएर पनि लालेलाई घरमा बस्न मन लाग्छ नभए त उसलाई घरले सँधै तर्साएझै लाग्थ्यो ।
आज पनि लाले चार गाँसभन्दा बढि खाना खान सकेन । सबै काले कुकुरलाई दियो । हजुरबुवाले नखाएको देखेर नविनालाई रिस उठ्छ माया पनि लाग्छ तर ऊ केही भन्दिन । रमाले बुवालाई चित्त दुख्ने कुरा केही नभन्नु भनेर भनेको सम्झिरहन्छे ।
‘बुवा मैले ओछ्यान मिलाइदेको छु आरामले सुत्नु ल ।’ बिँडी तान्दै आकाशतिर टोलाएको लालेलाई नातिनीले भनेपछि ऊ सरक्क भित्र जान्छ ।
‘कहाँ गई खै यो थोतिनी ? मंगली, मंगली.... हैन कता छेस तँ ?’
‘हैन कति कराउन सक्छन यी बुडा लौ तिम्रो तातोपानी । ’ मंगली झर्किदै लालेलाई तातोपानी दिन्छे ।
‘ल तातोपानी त लिन भित्र गएकी रैछे म चाहि काँ काँ न गइ भनेर आत्तेको’ रिसाएकी मंगलीको अनुहार हेर्दै हाँसेजस्तै मनमनमा अलिअलि डराउँदै लाले पानी समाउँछ ।
‘घरमा कति काम छ म कता हराउनु नी बरु तिमीलाई तातोपानी दिएर लखेट्न पाए आनन्द हुन्थ्यो।’ लालेको डोको अगाडि ल्याइदिन्छे ।
‘लल थोति बुडी म हिँडिहाले बरु अहिले आउने बित्तिकै चाहि मलाई कागती पानी ठिक्क पारि राख । कत्ति दिन भो नखाको सादा पानीले त प्यास मेटिन्न के मेरो त ।’ डोको उचाल्दै मुखमा पानी निकाल्दै लालेले मंगलीसँग गुनासो पोख्छ ।
‘काँ आज भनेको तिमीले ? भोलिदेखि बल्ल खान पाउँछौ कागती पानी बुझ्यौ तिमीले ?’ अलिअलि माया अलिअलि दिक्क मान्दै मंगली लालेलाई भन्छे ।
‘ए होर ? भइहाल्छ नि हजुर तपाइले भनेपछि त म कहाँ खान्छु र भोलिदेखि नै खाउला नि त । गए म अब ।’ लाले दिक्क मान्दै डोको बोकेर घाँस काट्न निस्किन्छ ।
‘हेर न उनले भनेको भएन भने त बुडीलाई पनि तपाइ भन्छन । यी पनि बच्चा भन्दा कहाँ कम छन र ? ल ल जाउ चाँडै गरेर आउ ।’ मंगली पनि गोठतिर लाग्छे ।
‘बुडा ए बुडा लौ तिम्रो टोपी धोइदेको छु लगाऊ । जहिल्यै मैलो लुगा लायो हिड्यो । तिमी पनि सारै नहुने नै भइसक्यौ के । भनेको फिटिक्कै मान्ने होइन ।’ सफा पारेर धोइदिएको टोपी लालेलाई दिँदै फत्फाउँछे मंगली ।
‘काँ गयो मेरो टोपी भन्दै बिहानदेखि खोजिराको थिए । ल कत्ति सफा पारेर धोइदिइछे यसले हेर त । यो टोपीलाई मेरो पसिना गनाउने पो होकि भन त ओइ थोति ।’ खुशी हुँदै लाले मंगलीलाई जिस्काउँछ ।
‘ तिमीलाई पनि टोपीलाई जस्तै सफा बनाइदिम के हो खुबै मस्केका छौ त बुडा ।’
‘लौ न त यति कष्ट गरिबक्सिनु त महारानी । मेरो भाग्यनै चम्किन्थ्यो होला नि ।’ लाले पनि के कम बुढेसकालमा पनि जवानी देखाउन तम्सिन्छ ।
‘ल हेर फुर्केका यी बुडा । यति ४ वटा लुगा धुँदा त ज्यान फतक्क हुन्छ । सक्छु होला त्यो बुढो काति परेको ज्यान नुहाइदिन । ल आफै नुहाउ म चाँहि गोठतिर लागे ।’ पट्टाएका लुगा बाकसमा राख्दै मंगली गोठतिर लाग्छे ।
लाले पनि खिस्स दाँत देखाउँदै बिँडी सल्काउँछ र एकचोटी स्वाठ्ठ तान्दै भन्छ ‘रुप छैन, जवानी छैन, अरुका त के कुरा भयो र हजुर यै थोतिले नि अचेल पत्याउन्न’
‘ए बुडा उठ न मेरो पिँडुला माडिदेउ त कस्तो दुख्यो भन्या । ए उठ न के ।’
‘हन कत्ति कराउँछे हौ यो गनगने बुडी रातीमा धरी मलाई सुख छैन । खै ल्या तेरो खुट्टा । खै ल्या न भनेको ।’
लाले बर्बबराउँदै ब्युझिन्छ । अघिसम्म पिँडुला माडिदेउ न भन्दै गनगन गर्ने मंगली पनि छैन । ओछ्यानमा पनि ऊ एक्लै छ ।
आज पनि मंगलीले सुत्न दिइन लालेलाई । उठ्छ बत्ती बाल्छ अनि बिँडी सल्काउँछ । अनि बर्बराउँछ , ‘तँलाई कति पिँडुला दुखेको होला नि मंगली ? कहाँ गइस भन त ? कति भयो भन त मैले तेरो पिँडुला नमाडेको ? अब त आइज के घर थोति । कहाँ हराइस त ।’
आजको रात पनि लाले बर्बराउँदैमा बित्ने भयो । बिँडी तान्दैमा बित्ने भयो ।
‘हजुर बुवा तातोपानी लिनुस ।’ चर्पी गएर हातमुख धोएर बसेको लालेलाई नविनाले तातोपानी दिन्छे ।
बिँडी खान ठिक्क परेको लाले नातिनीले दिएको पानी समाउछ । नविनालाई हजुरबुवालाई कुनबेला के दिनुपर्छ भनेर थाहा भइसक्यो । लालेलाई पनि नातिनीले दिएपछि नाइ भन्न मन लाग्दैन । तर पहिलेजस्तो तातोपानी धेरै खान पनि सक्दैन अनि खान मन पनि गर्दैन । पहिले पो मंगली गनगन गर्थि, कराउँथी, रिसाउँथी, त्यसकै डर, मायाले पनि खाइदिउ जस्तो लाग्थ्यो लालेलाई । अचेल त उसका रहर, बहाना सबै ऊ भन्दा बुढो भइसकेका छन् । तैपनि नातिनीले माया गरेर बनाइदिएकी भएर अलिअलि भएपनि लालेले पानी पिइदिन्छ ।
आज झण्डै एकहप्ता पछि कान्छोले लालेलाई फोन गर्दैछ ।
‘बा कस्तो छ तपाईलाई ? म अब एकहप्ता पछि मात्रै यहाँबाट हिड्ने भए है । साहुले मिति सार्न लगायो । अबको १० दिनभित्र घर आइपुग्छु । काठमाडौंमा साथीहरुले एकदिन त सँगै बस्नुपर्छ भनेर कर गरेका छन । म आउँदा १, २ दिन काठमाडौंमा अल्मलिन्छु है बा पिर नगर्नु ।’
हतार हतारमा बोलिरहेको छोराको सबै कुरा प्रष्टसँग लाले बुझेन पनि । ‘हुन्छ कान्छा सकेसम्म चाँडै आइपुग है कान्छा । तँ आएपछि आमालाई खोज्न जानुपर्छ ।’ हर्सले लालेको मुहारमा थोरै उज्यालो देखिन्छ । उसलाई छोरो आउने खुशीभन्दा पनि उसकी मंगली भेटिन्छे भन्ने ठुलो आश छ । त्यहि कान्छोले म आएर आमालाई खोज्न जान्छु भनेपछि मात्र लाले चुप लागेर बसेको थियो ।
‘कान्छा आउँछ अनि हामी फेरि एकचोटी लहान गएर तिम्री हजुरआमालाई खोजेर ल्याउँछौं । तिमीलाई पनि त भेट्न मन होला नि हैन नातिनी ?’
खाना खाँदै गर्दा आज लालेले नातिनीलाई भन्छ । हजुरबुवा यसरी बोलेको सुनेर नविना छक्क पर्छे अनि हजुरबुवालाई हो मा हो थप्दै टाउको हल्लाउँछे ।
एउटा सानो आशा फेरि लालेको मनमा पलाएको छ । कान्छो घरमा आउने कुराले लालेको मंगलीसँग भेट्ने चाहना झनै बढेर गएको छ ।
‘ए बुढा यता आउ त बेगौती दुध तातात्तो छ खाइ हाल त । छिटो आउ न के ।’ राती गाई सुत्केरी भएकी छे बगौती दुध भनेपछि लाले हुरुक्कै हुन्छ । त्यहि भएर पहिले लालेलाई धोको पुग्नेगरी खान दिन मंगलीले लालेलाई बोलाउँदै छे ।
‘ल ल बुढी आइहाले ल ल्या त खाम ।’ लाले चिसै हात लिएर हतारिदै आउँछ । मंगली पच्छौरीले हात पुछिदिन्छे अनि बेगौती दुधको कचौरा लालेको हातमा थमाइदिन्छे ।
मिठो मानी मानी खाँदै लाले भन्छ ‘खै त पनि खान । कति मिठो छ । बरु भए मलाई अलिकति थपिदे नभए पर्दैन । तँ चाहि आफ्नो भाग लिएर खान बसिहाल लु छिटो ।’
आफ्नो भागबाट झिकेर लालेको कचौरा बेगौती थपिदिंदै मंगली बोल्छे, ‘ यसपालीको बेतमा त बाछी ब्याको छ । दुध अलि बढि दिनुपर्छ बुझेउ बुढा । लगातार ३ वर्ष बाछो पाएर यसपाली बल्ल बाछी भाको छ । स्याहार सुसार राम्रोसँग गरेर चाँडैनै हुर्काउनु पर्छ । यो राती पनि थाक्न लागिसकी अबको २,३ बेत पछि त यसले दुध दिन सक्दैन । भगवानको कृपाले यसपाली बाछी जन्मेको छ । अब यस राती थाक्नुअघि नै यो बाछीलाई दुध दिने बनाउनुपर्छ ।’
जुनेली हेर्दाहैर्दै ठुली भई रातो भुइँमा सेता बुट्टाले जुनेलीको जिउ ढाकिएको छ । भर्खर बैस चढ्दै गरेकी किशोरीको रुप धपधप बलेजस्तै जुनेली बैसको लाली देखिन्छ ।
मंगली दिनरात जुनेलीलाई स्याहारी रहन्छे । गोठमा अर्को माउ पनि थपेका छन् । रातीले सोचेजति बेत ब्याउन सकिन । जुनेली वर्ष दिनकी थिइ । रातीको पेट भारी थियो ४ महिनाको बाछो पेटमै म¥यो । समयमा निकाल्न नसकेर रातीको पेट पनि फुल्दै गयो । पेटको मरेको बाछो निकाल्दा निकाल्दै रातीले आँखा पल्टाई ।
निकैदिन लाले र मंगलीको अनुहारमा हासो देखिएन ।
रातीको दुध सुकिसकेको भएर उनीहरु कालै चिया खाइरहेका थिए । घ्यू पहिलेकै छँदैथियो । पहिलेपहिले उनीहरु राती ब्याउने दिन कुर्थे बरु तर अन्तबाट दुध ल्याएर उनीहरुलाई खान मन लाग्दैनथ्यो । तर अब राती नै नभएपछि त अर्को ल्याउनुपर्ने नै भयो । जुनेली पनि कहिले भारी जिउकी हुन्छे ठेगान छैन । घरमा दहि दुध भएन भने पनि के नभाको के नभाको जस्तो हुन्छ ।
एउटा बिहान लालेको घरमा कालो र्रगमा सेता छिर्केमर्के बुट्टेदार गाई लिएर एक जना ठिटो आइपुग्छ । लाले डोकोमा नाम्लो लाउँदै गर्दा हिजो हेर्न गएको गाई आज घर आइपुग्यो । हिजो उसले बैनामात्र मारेर आएको थियो । साँझको बेला नलैजानु बरु भोलि हामीनै ल्याइदिन्छौ भनेपछि बुढो मान्छे खुशी हुँदै घर आएको थियो ।
‘बुवा, लिनु दुध पिउनु’ नातिनीको बोलीले लाले झसङ हुन्छ ।
उसले सकि नसकि यतिका दिन बित्दा पनि जुनेली र काली गाई स्याहारी रहेको छ । पहिले पहिले भए मंगलीले घ्यू बेचिरहन्थी । दुध पनि घरमै लिन आउथे । अहिले त दुध पनि सुक्दै गयो दुइटैको । फेरि काली थारो मात्र बस्छे । मंगली हराएदेखि काली गाईले झनै दुख दिन थालेकी छे । बेचम बिक्दैन थारो गाई । मारम पाप लाग्छ । लाले दिक्क भाको छ ।
लालेको गोठमा जुनेलीले गर्दा मात्र उसलाई गोठमा पस्न मन लाग्छ । आज पनि दुध पिएर लाले बारीमा घाँस काट्न जान लागेको छ । जुनेलीको बाछी पनि ४ महिनाकी भैसकी । मंगलीले जुनेलीको बाछोमात्र स्याहारेकी थिइ । बाछी पनि स्याहार्न पाकी भए कति खुशी हुन्थी भन्दै लाले एक्लै बर्बराउँदै । जुनेलीको टाउको मुसार्दै डोको बोकेर बारीतिर लाग्छ ।
दिन बित्दै गए हप्ता दिन बितेपछि कान्छोले काठमाडौंबाट फोन ग¥यो ।
‘बा म भर्खर काठमाडौं आइपुगे अब पर्सिमात्र गाडि चढ्छु है । भोलि साथीहरुसँग भेटघाट गर्नुपर्छ । म मित दाईकोमा भर्खर आइपुगेको छु है ।’
‘कान्छा अबेर नगर है पर्सि राती साँझसम्म जसरी नि आइपुग है’
कान्छो आउने दिन कहिले आउला जस्तो भएको छ लालेलाई । ३ वर्षसम्म घर देशबाट टाढा बसेको छोरो अबको ३ दिनभित्र आफ्नै अगाडि टुप्लुक्क आइपुग्छ भनेर थाहा पाइसकेपछि झनै लाले दिनरात लामो लाग्न थाल्छ ।
आज कान्छा साँझमा घर आइपुग्छ भन्दै लाले बिहानदेखि आँगनमा ओहोरदोहोर गरिरहेको छ । बिहानको ९ बज्दा सम्म लालेले एक डोको घाँस ल्याइसक्यो ।
‘कान्छा छिटो निस्कि त बाहिर जान अबेर भइसक्यो । तेरो गाडी आउन लागिसक्यो । ’ राता अक्षता र कलस हातमा बोकेकी मंगली बाहिरबाट चिच्याइरहेकी छे ।
झोला बोकेर कान्छो बाहिर निस्किन्छ । आमाको प्यारो छोरो कान्छोका आँखा रसाइरहेका छन । लाले पनि अघिनै देखि बाहिर बसेर झोक्राइरहेको छ ।
आँखाभरी आँसु लिँदै मंगलीले कान्छोलाई राता अक्षता, फुलले निधार र कान ढाकिदिन्छे । मन मनमा भगवानलाई लाखौ पटक कान्छोको राम्रो होस भन्दै जपिसकेकी छे ।
‘घरको दुख नभुलेस, साथी सँगत राम्रोसँग बुझेरमात्र गर्नु , दायाँबायाँ मन नडुलाउनु, जे सोचेर हिडेको छस त्यो नभुलेस । अनि फुन गर्दैगरेस । ’
यति भन्दासम्म मंगलीका आँसुका धारा बग्न थालिसके । आमाछोरा भक्कानिएर अँगालो हालेर रुन्छन । लाले अलि परै बसेर आँखाका चेपबाट पानी खसाल्छ ।
यतिकैमा कान्छोसँगै कतार जाने साथी रामे पनि आइपुग्छ ।
‘ओइ कान्छो हिड छिटो गाडी आयो । ’
कान्छो झोला बोक्दै गए है आमा गए बाबा भन्दै रामेको पछि लाग्छ ।
‘काठमाडौ मित दाइकोमा पुगेपछि फुन गरेस है` भन्दै मंगली चिच्याउँछे ।
ल ल भन्दै कान्छो दौडिन्छ ।
‘बुवा... बुवा... काठमाडौंबाट मितमामाको फोन आछ । लिनु बोल्नु रे ।’ नविना हस्याङफस्याङ गर्दै लालेको छेउमा आउछे ।
‘हजुर सुवास छोरा भन ।’
लालेका आँखा ठुला हुन्छन मानौ उसले डरलाग्दो कथा सुन्दैछ । उसका आँखा अनायासै रसाउछन । ऊ छटपटिएर यताउता हेर्छ । अनि एउटै वाक्य मुखबाट निकाल्छ ‘कान्छा’ ...
लालेको चिच्याहटमा ठुलो पिडा बाहिर निस्किन्छ । लाले भुँइमा पछारिन्छ ।
लाले पुर्पुरोमा हात राखेर बराण्डामा बसेको छ । मित छोरा उसको अगाडि छ । रमा सुक्क सुक्क गर्दै लालेको छेउमा रोइराकि छे ।
साथीहरुसँग राती रमाइलो गरेर फर्किदा बाइक दुर्घटनामा परि कान्छोले यो संसार छोडेको थियो ।
जसको बाइकमा चढेको थियो उसले रक्सि खाएको रैछ । कान्छोले बाइक चलाउने आँट गरेनछ ।
घाइते साथीको बयानबाट थाहा भएको कुरा मित छोराले सुनायो । त्यसपछि कटारीसम्म उसैले कान्छोको लास लिएर आएको थियो ।
ठुलो छोरो सर्पले टोकेर मरेपछि कान्छोमात्र उनीहरुको सहारा थियो । अब त कान्छो पनि छैन । मंगली पनि कता छे थाहा छैन ।
लाले के के सोचिराको छ त्यो पनि थाहा छैन ।
उसले बेहोसमै कान्छोको दाहसंस्कार ग¥यो ।
१३ दिनको काम सकेर लाले छोरीको पछि लागेर विराटनगर लाग्यो । मनभरी दुखैदुखको भारी बोकेर कहिले टुङ्गिने हो थाहा नभएको जिवनको यात्रामा ऊ गलेका पाउ लिएर अघि बढ्यो ।
Comments
Post a Comment