पानिको थोपाले छोपेको झ्याल हेर्दै हर्के आफ्नी बुढीलाई भन्छ।
बान्ता गर्दै प्लास्टिकको झोला थाप्दै ठुली पनि उसको कुरा सुनेर टाउको हल्लाउछे।
मुखै नमिठो भाको छ ठुलिको।
मकै कम्मर कम्मर नआउदै काठमाडौँ पेट जचाउन आएका थिए। गाउका बुढाबुढीलाइ के थाहा र कोरोना भनेको के हो भनेर। हप्ता दिन छोरा बुहारी संग बसेर अस्पतालमा जांच गराउनन आएका थिए।
अस्पतालले पनि जांच गरेर रिपोट पनि दिन ढिलो गर्यो। रिपोट पनि आएन ठुली लाइ झन सारो भयो। घर जाने पनि सोच्न सकेनन। एक हप्ता दुइ हप्ता भन्दा भन्दै महिनौ बित्यो। अहिले हर्के र ठुली गाउ जादैछन।
“ए बुढा चिसो आयो झ्याल बाट धेरै, तिमि यता आउ म छेउतिर बस्छु।”
“खै कहाँबाट आउछ चिसो ? हेर्न झ्याल बन्द छ देख्दिनस ”
थोरै उठेर झ्याल मिलाउदै हर्के ठुली लाई भन्छ।
मुख बिगार्दै ठुली भन्छे “यता आउन के , मलाई जाडो भयो। ”
राम्रोसंग निको नभाकि ठुलिलाई केहि गाह्रो भाको जस्तो देख्यो हर्केले।
“यता आएर के गर्छेस , तलाइ टेको लाउन मेरो ज्यान ठिक्क भाको छ। म तेता झ्यालपट्टि बसे भने तेरो ज्यान कसरि अड्याउछेस , तेसै त सुकेको मकैको डाठ जस्ती भाछेस।”
बर्खाको बेला तेही माथि कच्ची बाटो। निदाएको बेला गाडीले उफर्दा कति यात्रुको टाउको दस ठाउमा बजारिएको आवाज आइरहेको थियो। हर्केको कुराले होस् आको जस्ती भाकी ठुली कुनातिर सर्छे।
चिन्ता अनि माया दुवै नजरले आफुलाई हेरेको बुढोको झनै माया लागेर आयो ठुली लाई।
झोलाबाट बर्को निकालेर ओढी र हर्केको काँधमा अढेस लागी।
ठुली आँखा बन्द गर्दै खोल्छे। फेरी आँखा चिम्म गर्छे। ठुली निदाउन लागेको थाहा पाएपछि हर्के चुप लागेर बस्छ। तर उसका मानसपटलमा कुरा खेल्न सुरु हुन्छन।
ऊ आफ्नो जवानी अनि भर्खरै गाडीसम्म छोड्न आएको छोरोको बाल्यकाल सम्झिन्छ।
ऊ आफु पहिलो पटक बुवा हुदा १९ पुगेर २० लाग्दैथियो। ठुली पनि त कति नै ठुली थि र ?
१७ बर्षमै आमा भएकी थिइ ।
त्यो पहाडको जीवन उकालो ओरालो गर्दै बितेको हर्के र ठुलीले पत्तै पाएनन। बर्खे झरी, हिउँद, गर्मि सबै भोग्दै भोग्दै ५० कटिसकेका थिए।
लामो सास फेर्छ हर्के एकपटक । उसलाई जीवनका मिठा पल खोज्न मन लाग्छ तर मुस्किलले उ ती खुशीहरू सम्झिन्छ। साने जन्मिदा, लाली जन्मिदा, छोराछोरीलाई विद्यालय पठाउदा, छोरा प्रथम हुदा, छोरीले जिल्ला स्तरिय वादविवाद प्रतियोगिता जितेर आउदा, छोरो एस एल सी मा प्रथम श्रेणीमा पास हुदा, छोरीलाई सबैको भन्दा राम्रो नतिजा आएको भनि विद्यालयले सम्मान गरेको यस्तै यस्तै कुरा आज बुढो मनले सोच्यो। हर्केको आँखा रसायो। तर उसले नाकको पनि पुछ्यो। आँखाको चेपबाट आँसु बग्न दिएन।
म त गरिब किसान, मेरो पनि छोराछोरीलाइ त मैले पनि दुख गरेरै त पढाएको थिए। तेतिबेलाई पनि छिमेकीहरु छोरालाई परदेश अनि छोरीलाई पराइघर पठाउन हतार गर्थे। कतिले त मलाई भने पनि “आज दुख गरेर के गर्छौ हर्के भोलि त यिनीहरुका पखेटा पलाएपछि सबै छोडेर जान्छन। आज पैसा किन खर्च गर्छौ। बरु बुढेसकालको लागि जम्मा गर , रोग बिमारको बेला हारगुहार गर्नु त पर्दैन। पछि यिनैले यै पैसाकै कारण रुवाउछ्न।”
कताकता चस्स हर्केको मन पोल्यो। उ त आफु जसो तसो सहन्छ। तर बालाखैमा आमा भएर बुढो रोग पालेकी उसकी श्रीमती ठुलीलाइ गरेको व्यवहारले उसको मन फेरी कुड्कीन्छ।
“बा यसपाली यस्तै भयो मन नदुखाउनु है ।” यति भनेको थियो हरिले गाडी गुड्नेबेला।
हर्के टाउको हल्लाउदै बुहारी, नातिनातिनिको अनि आफ्नो ख्याल राख्नुू भन्दै आफ्नो सिट तिर लागेको थियो।
पहिलेपहिले भन्दा पनि बेस्सरिनै पेट दुखेपछि हर्केले खेतको काम छोडेर ठुलिलाई चरिकोट जांच गराउन लगेको थियो।
उ सँधै जाने गरेको मेडिकलको डाक्टरले पनि एकचोटी काठमाडौँ लैजानु, सिटिस्क्यान गराउनु भनेर पेट दुख्न कम हुने गोटी दिएर पठाएको थियो। छिमेकी पनि अनि मामाको छोरा पनि भएकोले हर्केले माइलोलाइ खेत बारी जिम्मा लाएर काठमाडौँ आएको थियो।
छोरा बुहारीलाई बोरामा चामल, आलु, फलफुल, तरकारी, महिना बिराएर पठाउने हर्के यसपाली भने रोगि बुढीलाइ लिएर काठमाडौं आएको थियो।
४,५ बर्ष बितिसकेको रैछ हर्के काठमाडौँ नआएको पनि। कोटेश्वरको चोकमा लिन आउछु भनेको छोरोले बल्लबल्ल बुवाआमालाई कोटेश्वोरको आकाशेपुल मुनि फेला पारेको थियो। छक्क परेको थियो हर्के, हनुमानको छाती जस्तै कोटेश्वोरको फराकिलो सडक देखेर। लखतरान भाकी ठुलिलाई भने झिजो लागिरहेको थियो।
छोरासँगै आएको नाती बाइकबाट ओर्लेर हजुरबुवाको हात समाउँछ । आमालाइ बाइकमा राखेर हरि गल्लीगल्ली छड्कीदै बाइक लिएर जान्छ । आज हातका औला समाउँदै, बाटो देखाउँदै नातीले हर्केलाइ कोठातिर लैजाँदैछ । कहिलेकाही फोनमा कुरा हँदा हर्केको नातीको गफनै सकिदैन । केहि न केहि बहानामा उसका ममी ड्याडीले नै हजुरबुवासँग पछि कुरा गर्ने भनि फोन राख्छन ।
नाती केटो उसको बाउ हरि सानोमा जस्तो थियो दुरूस्तै छ ।
मान्छे हसाङफसाङ पछाडि ब्याग, हातमा झोला बोकेर दौडिरहेका छन् । बाटो फराकिलो मात्र नभएर एकदमै भिडभाड पनि देख्यो हर्केले ।
केके भन्दै कुरा सुनाउँदै, अघिअघि लम्केको नातीको कुरातिर उसको ध्यान कुनैबेला जान्छ कुनैबेला भिडभाडलेनै हर्केलाइ रूमल्याउँछ ।
भर्खर बोर्डिङको १ कक्षामा पुगेको हर्केको नाती हेमनलाइ उफ्रिदै उफ्रिदै हिडेको देख्दा हर्के एकफेर हेमनको बाउको बाल्यकालमा पुग्छ ।
हर्के काँधमा छोरो बोकेर खेततिर जाँदैगर्दा माइलोले “ए सानो हर्केदाइ” भन्दै हरिलाइ बोलाउँथे । हर्केको टाउँकोको टोपी तानेर आफ्नो टाउकोमा हत्तपत्त लाउँदै हरि थोते दाँत देखाउँदै हाँस्थ्यो ।
हर्केकी माइजु सँधै भनिरहन्थिन, “हाँस्दा त ठ्याक्कै भान्जा बाबु देखिन्छ यो नाती केटो । सानोमा यस्तै त हुनुहुन्थ्यो भान्जाबाबु ।”
माइजुको कुरा सुनेर हरि निचिक्क हाँस्थ्यो । बुवा हाँसेको देखेर हरि पनि निचिक्क हाँस्थ्यो । वयस्क र बालखा बीचको अन्तरले मात्र फरक देखिन्थ्यो हर्केका बाबुछोराको त्यो हाँसोमा । भाव नै नबुझेपनि हरि हाँसिदिन्थ्यो आफ्नो बुबासँगै । छोराको अनुहार हेर्दै मनमनै हर्के यहि भन्थ्यो “छोरा तेरो र मेरो अनुहार एउटै भएपनि भाग्य एउटै हुनेछैन ।”
नातिले ढोका ढक्ढकाउँदै “मामु ढोका खोलिस्यो त छिटो ” भन्दै कराउँदा हर्के झलास्स हुन्छ । व्यस्त शहर र अनकन्टार गाउँको कथासँग हराउँदै छोराको कोठासम्म आएको पत्तै पाएन हर्केले ।
ढोका पुरै खोल्न नभ्याउँदै हेमन बाथरूमतिर दौडन्छ । उसलाइ सु ले च्यापेको रैछ । चकचके छोरोलाइ कराउँदै बुहारी भान्छाकोठातिर लागिन । ढोग्न बिर्सिछे बुहारीले नातिलाइ कराउँदा, यस्तै सोच्यो हर्केले बिसन्चो भएर बिग्रेको ठुलीले पनि त्यस्तै बुझी ।
४ कोठाको ठुलो फ्ल्याट लिएको रैछ हरिले यसपालि । बाइक पनि जोडेछ । बुहारीले पनि हातमा औठी थपेकी रैछ । छोराबुहारीले अहिले अलि सुख पाएका रैछन भन्दै बुढाबुढी साझ कुरा गर्दैथिए । नाती खेल्दैथियो, छोरा बुहारी चाहि तरकारी किन्न भनी चोकतिर निस्केका थिए ।
हर्के र ठुलीले जे जस्तो भएपनि गाउँलेले भनेजस्तो हाम्रा छोराबुहारी छैनन भन्थे । यसपालि त अब ज्यानलाइ गारो भएर आएका छन, छोरा बुहारीले खर्च हेर्छन भनेर खुशी पनि ढुक्क पनि छन ।
तरकारी किनेर आएका छोरा बुहारीको अनुहार केहि फरक देख्छन हर्के र ठुलीले ।
“के भाको हो यस्तो, केहि अत्तोपत्तो पनि थिएन नभए त बुवाआमालाइ उतै चेकअप गर्न भन्ने थियौ । तपाइ पनि कस्तो सुद्दी नभएको मान्छे ।” सरिताले अँधेरो अनुहार पार्दै हरिलाइ हेर्दै बरबराउँछे ।
“अरू देशमा त यसले सताइराको छ भन्ने त समाचारमा पनि आइरहेको थियो नि, अब अचानक नेपाल सरकारले यस्तो निर्णय लिन्छ भन्ने के थाहा त ?” हरि पनि अलिअलि रिस र पिरले झर्किदै सरितालाइ जवाफ दिन्छ ।
भर्खर भर्खर होस आएजस्तो भाकी ठुली र गाडीले उफारेर थलिएको हर्केले केही बुझेनन् । र केहि पनि सोधेनन ।
सरिताले नै राइस कुकरमा खाना बसाल्दै भनि “अब ममीको चेकअप आइतबार गराउने भनेर अपोन्मेन्ट लिसकेको छ डाक्टरसँग, फेरि त्यही दिन रिपोर्ट आउँदैन, सोमबार पनि २, ३ बजे यता आउँदैन । मंगलबारदेखि त बन्द रे पुरै देशभरिनै । २३ गतेसम्म भनेको छ । त्यसपछि पनि स्थिति सामान्य भएन भने अझै थप्न सक्छ रे ।”
बिहीबार छोराबुहारीकोमा आइपुगेका हर्के र ठुली ठुलो फसादमा परेको कुरा खाना खानेबेलासम्म बुझिसकेका थिए । त्यहि भएर पो दिउँसो त्यस्तो धेरै मान्छेको हुल थियो जहाँ जो पनि ब्याग र झोला बोकेर हसाङफसाङ दौडिरहेका थिए ।
अब पेट नजचाइ जाउ भनेपनि ठुलीलाइ यसपाली सारै पारेको छ । जचाउँन बस्यो भने यता फेरि यो के हो लकडाउन भन्ने देशभरि हुन्छ अरे ।
राती सुत्नेबेला चरिकोटको मेडिकलमा दिएको चक्की खाँदै गरेकी ठुलीको घाटी हेर्दै हर्के भन्छ , “सारै दुख पाइस ठुली तैले, कति सहिस कति पिडा लुकाइस तैले, हेर त तेरो बुढो शरिरले आखिर देखाइ छाड्यो तेरो पिडा । नआत्ति केही हुन्न ।”
दुखाइले पनि सिमा नाघिसकेको पेटको दुखाइ कम भाको जस्तै अनुहार बनाएकी ठुलीले आँखाले नै हुन्छ भनि हर्केलाइ, उसले पनि बुझ्यो ।
थाकेको बुढो शरिरहरू एकैछिनमा गहिरो निद्रा परे ।
बिहानै चोकतिर भिडभाड र हल्ला खल्ला बढ्छ । छोरा बिहानै अफिस गइसकेछ । बुहारीको स्कुल पनि हिजोदेखि मात्र बिदा भएको थियो ।
हर्के उठेर हातको घडी हेर्दा ८ बजिसकेको थियो । बुहारी भर्खरै चोकतिर घरको सामान लिन निस्केकी रैछिन, नातिले भनेको ।
होमवर्क गर्दै गरेको नाति केटो हजुरबुवाको काखमा आएर बस्छ अनि भन्छ, “बुवा हजुरहरू अब यहि बस्ने हो ?”
“होइन बाबु अब १२, १५ दिनपछि जाने हो ।” हर्के नातिको गाला मुसार्दै भन्छ ।
“हिजो राती मामुले त अब यतै बस्नुहुन्छ होला भन्दै ड्याडीसँ भन्दै होइसिन्थ्यो । यो लकडाउन भनेको केहो बुवा ?” अचम्म मान्दै नातिले बुढो, केही नजान्ने, गाउँको सोझो मान्छेलाइ अफ्ठ्यारो प्रश्न तेर्सायो ।
“खोइ बाबु म केही जान्दिन ।” शिरको टोपी हातमा राख्दै हर्केले नातिलाइ भन्यो ।
बुहारीलाइ हामी आएको १ दिन बितिसक्दा नै अब यतै बस्छन भन्ने पिर परिसकेछ भन्दै मनमनै आफैलाइ भन्छ हर्के । नातिले पुरै कुरा त के बताउन सक्थ्यो र तर उसका बाउअमाका गन्थनमन्थनले उसको कलिलो दिमागमा उब्जेका साना अनि अप्ठ्यारा प्रश्नहरूले हर्केलाइ बुझाइदिए ।
हातको ढाका टोपी कतिबेला नातिकेटोले लगाएर निच्च पर्दै हर्केको अगाडि उभिएको रैछ । त्यतिबेला सम्म पनि हर्के सोचाइको गहिराइबाट निस्केको थिएन । हेमनले “मलाइ दिनु त यो जुँगा” भन्दै सेतै फुलेको जुँगा तान्दा पो हर्के झस्कियो ।
“हजुर र मेरो त अनुहार मिल्छ जस्तै छ हेरिस्यो त बुवा । ” दाँया गालातिर हेमनले बुढो मुन्टो फर्काइदिन्छ ।
हो त नातिको पनि उस्तै चुच्चे नाक, ओठमुनी दाँयातिर कोठी कैलो कैलो कपाल, ठुलाठुला आँखा ।
एकछिन नियालेर हर्केले हेर्यो अनि फेरि हरिको बालापन सम्झिदै मनमनै आफैलाइ भन्यो , “मेरो छोरोलाइ मैले गाउँमै पनि अरूले भन्दा बढी सुखमा हुर्काए , आज मेरो नातिलाइ छोरोले पनि उसको भन्दा बढि सुखमा पालेको छ । समयसँगै दुख गर्ने पात्र फेरिदै गए, र सुख भोग्ने पात्र पनि फरकफरक रूपमा आउन थाले । मेरा छोरा नातिले मैले जस्तो दुख कहिल्यै गर्न नपरोस अनि मैले भन्दा धेरै सुख यिनले भोग्न पाउन भगवान । ”
अँधेरो मुख पार्दै बुहारीले बजारबाट २,३ हप्ताको लागि भान्छाको सामान ल्याइसकिन । तातोपानी तताइदेउ भनेको आधीघण्टापछि ठुलीले तातोपानी पाइ । खालीपेटमा खानु भनेको औषधी मन तातोपानीसँग निलि ।
बुढाबुढी दिनभरी झोक्राएरै बसे । खाना, खाजा जेजे बुहारीले दिइन खाए ।
साँझ छोरो झनै आत्तिदै आयो । अब कहिलेदेखि अफिस खुल्छ निश्चित नै छैन । भन्न त सरकारले ९ दिनपछि खोल्ने भनेपनि अरू राष्ट्रमा कोरोनाबाट संक्रमण हुनेको संख्या बढ्ने अनुमान विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ भन्दै सुनायो ।
पेट दुखेर थला परेकी ठुली अनि बुढीको पेट कहिले ठिक होला भन्दै आशामा बसेको हर्केले धेरै बुझेकै थिएनन। उनीहरूलाइ धेरै बुझ्ने जाँगर पनि चलेन तर गाडी पनि नचल्ने कुराले निराश बनाएको भने थियो ।
काठमाडौं छोडेर गाउँतिर लाग्नेको ताँती दशैको टिका थाप्न हिड्नेहरूको जस्तै थियो । मंगलबारदेखि हवाइ, गाडी सबै बन्द हुने भएकोले लाखौंले काठमाडौं छाडे । टिभीमा समाचार हेर्दै आत्तिएका थिए हरि र सरिता ।
सिभिल हस्पिटलमा आइतबार जाँच भयो ठुलीको । रिपोटर्ट लिन भोलि आउँनु भन्दै डाक्टरले पेट दुख्न कम र बान्ता नहुने औषधी लेखिदियो ।
गाडीमा चढ्दा मात्र होइन ठुलीलाइ ३, ४ महिनादेखि बान्ता पनि हुँदैथियो । सुरू सुरूमा त्यति धेरै बान्ता हुन्थेन, पछिपछि धेरैनै बान्ता हुन थालेको थियो ।
साँझ खाना खाइसकेपछि ठुलीले औषधी खाइ, सुत्नेबेला कोठामा छोरो आयो, अलि अप्ठयारो मान्दै भन्यो, “बुवा भोलि ३ बजे रिपोर्ट आउँछ, ४ बजेतिरको गाडी चढेपनि राति ९, १० बजे त बोचमा पुग्नहुन्छ । भिमकाकाको मा बसेर पर्सि शेराबेसी झर्दा पनि हुन्छ । अब यो बन्द भएपछि कहिले खुल्छ कुन्नी ? यताको बसाइ महंगो हुन्छ, बरू बेलैमा घरमा पुग्नुभयो भने खेतबारी पनि गोडमेल हुन्छ, गाइबाख्रा पनि भोकै मर्दैनन । म भोलि बिहान टिकट काट्न जान्छु ।”
छोरोको कुरा बुढा बाउआमाले सुने, हुन्छ भनेर टाउको मात्र हल्लाए ।
५ बजेनै हर्केको निद्रा खुल्यो । हरि पनि ६ बजेतिर उठ्यो । ५,१० मिनेट पनि बाइक घुइअ पारेर चोकतिर लागेको हर्केले थाहा पायो ।
८ बजेतिर हरि आयो । तर उसले टिकट पाएन । गाडीमा खुट्टा टेकाउन पनि टिकट पाएनछ ।
रिपोर्ट लिन गएको छोरोको अनुहार बिहानको भन्दा पनि बढी अँध्यारो भएको थियो ।
राती खाना खानेबेला सम्म पनि हरिले रिपोर्टमा ठिकै छ भन्दैथियो बाउआमालाइ । तर सुत्नेबेला भने हर्केलाइ हरि बैठक कोठामा लगेर आमाको व्यथाको कारण सुनायो ।
जिवनभरि भोक प्यास नभनि दुख गरि ठुलीले । खाइ नखाइ गरि छोराछोरी हुर्काइ तर सुख होला अब त भन्ने बेला नमिठो रोग बोकेर बसेकी रैछे ठुलीले ।
हर्केले धेरै त बुझेन तर पेटभित्रको ठुलो आन्द्रामा क्यान्सर भएको बुझ्यो ।
त्यो रात हर्के सुतेन । उसले सम्झियो ठुली खुशी भएको क्षण, ठुलीले पहिलो सन्तान गर्भमा बसेपछि हर्केलाइ सुनाउदा लजाएको त्यो क्षण ठुली खुशी थिइ । लालीले जितेर ल्याएका पुरस्कार हातले छुँदा, लाली पहिलो पटक बिहे गरेर माइत फर्कदा, छोरा साने जो सबैको हरि भएपनि ठुलीको साने थियो, सानेको बिहे हुने पक्का हुँदाको क्षण ।
हर्केले ठुली हाँसेको अरू क्षण सम्झिन सकेन । उसको भक्कानो फुट्यो । बुढो मान्छे हिक्क गर्न सकेन, खोकेर टार्यो ।
छोरा बुहारीको स्वभावमा परिवर्तन दुबै बुढाबुढीले महसुस गरिरहे । ठुलीलाइ पेट दुख्न, बान्ता आउन कम भएन, ठुलीको रोगले हर्केलाइ रातमा निद्रा परेन ।
नातिसँग समय काट्न सजिलो थियो फेरि १ महिना नबित्दै घरैमा पढाउन थाले नातिको स्कुलबाट । गाउँमा विधालय धमाधम बन्द हुँदैछन विधार्थी नभएर यता शहरमा यति सुविधा छ मोबाइल, कम्प्युटर, टिभीबाट पनि पढाएका छन ।
हर्के बेलाबेला छोरा र नातीलाइ हेर्थ्यो र आफ्नो अनुहार एेनामा हेर्थ्यो र मनमनै भन्थ्यो, “ बुढेसकालमा पालैपालो तिमीहरू मजस्तै देखिन्छौ । मैलेजस्तै पिडामा त बाँच्दैनौ होला है कि मैले भन्दा बढी पिडा लिएर बाच्छौ ?”
जस्तै पिडा भएपनि आफ्नै मनभित्रको द्वन्द्वमा बाच्नु नपरोस तिमीहरूले । आफैले गुहु मुत सोरेको छोरोले बाउआमाको बान्ता सोर्नुपर्दाको लाज र घिनको अनुहार देख्न नपरोस तिमीहरूले ।
हर्के सानो गाउँको साधारण बुढो मान्छे । उसलाइ दाँयाबाँया धेरै त सोच्न आउँदैन तर रोगी बुढीको अनुहारमा खुशी कम नहोस र शहरिया भएको छोरोको परिवारको हाँसो नउडोस यति कुरालाइ भने उसले ४ महिनाको बसाइमा खुबै ख्याल गर्यो ।
यो बिचको समयमा ठुलीले थाहा पाइ उसलाइ निको नहुने रोग लागेको छ भनेर । उसलाइ आफु चाडै जाने भए भन्ने पिर भन्दा पनि उ नहुँदा आफ्नो श्रीमानको ख्याल कसले राख्ला भन्ने मात्र पिर थियो ।
जतिदिन बाँच्छु गाउँमै बिताउछु भनेपछि छोराले नै चाँजोपाँजो मिलायो । भिमेश्वर नगरपालिका वडा नं ८ को स्वीकृति मगायो ।
उनीहरूजस्तै गरि गाउँ जाने मान्छे अरू पनि रैछन भन्ने गाडि चढेपछि हर्केका बुढाबुढीले बल्ल थाहा पाए ।
गाडीले गति लियो । खाडीचौरमा एकछिन गाडी रोक्यो । हर्केले आफ्नी जीवनसंगिनीसँगको यो साथसम्मको कथा व्यथा सम्झदै खाडीचौर पुगेको थियो । औषधीले एकछिन सन्च मानेर सुतेकी ठुली पनि ब्युउँझी ।
बाहिर निस्किन गारो मानि ठुलीले, पिसाब फेरेर हर्के गाडीमा चढ्यो साथमा पानीको बोतलमात्र लिएर आयो ।
साँझ पर्नै लागिसकेको थियो बाटो पनि हिलाम्मे थियो । गाडी खाडीचौरलाइ छोड्दै उक्लिन थाल्यो । नजिकै बौलाएको सुनकोशी चिच्याइरहेको थियो, अनि हर्केको मनमा पनि दुखैदुखका भेल बगिरहेका थिए ।
सुनकोशी कुनैबेला शान्त हुन्थ्यो । दुखैदुखको भारीले थिचेपछि कतैपनि चटपटाउन नपाउँदा हर्के पनि शान्त हुन्थ्यो ।
गाडी उक्कालो लाग्दैथियो, अँधेरोले छोप्दैथियो, मेघ गर्जदैथियो, एकछिनमा पानी पर्यो । बिस्तारै भेल बग्न सुरू भयो । कच्ची बाटोमा कतिखेर गाडीको चक्काले बाटो भुल्यो थाहै भएन ।
साँझ ८ बजे रेडियो, टिभी, अनलाइनमा खबर आयो , “थुमपाखरमा एक यात्रुवाहक बस दुर्घटनामा प¥यो, ड्राइभर सहित १२ जनाको घटनास्थलमै मृत्यू, ७ जना गम्भिर घाइते, ११ जनालाइ साधारण चोटपटक लागेको छ । मृत्यू हुनेमा नाम खुलेका ५७ वर्षीय भिमेश्वर नगरपालिका वडा नं ८ शेराबेशीका हर्क बहादुर बस्नेत र उनकी ५५ वर्षीय श्रीमती ठुलीमाया बस्नेत को घटनास्थलमै मृत्यू भएको छ । मृत्यू हुनेहरूमा १० जनाको अझै पहिचान खुल्न बाँकी छ । स्थानीय प्रहरीको उद्धारमा गम्भिर घाइतेहरूलाइ काठमाडौं ल्याइदैछ ।”
लेखक ः रेश्मी लामीछाने


धेरै सान्दर्भिक रचना रेश्मी म्याम ।
ReplyDelete