सेताम्मे धर्ती ( कविता )

निलो आकाश,
सेताम्मे धर्ती,
हामीले टेकेको सेतो माटो,
त्यो चिप्लो बाटो ।

मन चंगा पार्ने उज्यालो,
हिउँले पुरेको बस्ती,
घुँडाघुँडासम्म चिसो माटो,
हात समाउँदै,लड्दै हिडेको त्यो गोरेटो ।

आँखाभरी अटाउने त्यो संसार,
मायालु स्वरमा पुकारेको तिम्रो नाम,
सेता ढिक्कामा कुँदेका ती हाम्रा नाम,
एउटा हातमा लौरो अर्को हातमा तिम्रो भरोसा ।

के त्यो स्वर्गीय संसार फेरि भेटिएला ?
आँखाभरी नाचेका ती हिमाल र सपना फेरि देखिएला ?
लुकामारी खेल्दै भागेका हामी फेरि भागौला ?
बाटोमा तिमी हराउँदा पनि भरोसासँगै फेरि म कुरौला ?

आउँ फेरि हराउ त्यो संसारमा,
जहाँ निस्वार्थ हाँसिरहनेछ ती हिमाल हामीलाई देखेर,
आउँ, जाउँ फेरि त्यही चुचुरोमा,
जहाँ माता सबैलाई एउटै आशिर्वाद दिन्छिन खुशी भएर ।


रेश्मी लामीछाने



Comments