आत्मा सन्तुष्टि कहाँ छ ? (कथा)



पारिलो घाम झ्यालबाट कोठामा छिरिसकेको छ ।

कोठा सधैझै लथालिङ्ग देखिन्छ ।
बिहानको ८ बजिसक्दा पनि शोभितको ढोका नखुलेसी मिमि बज्यै चिच्याउदै ढोका ढक्ढकाउछिन ।
“सोभित बाबु ओ सोभित बाबु,,,, ऐलेसम्म के गरिराको ? उठ्नुपर्दैन ?”
राती अबेरसम्म बसेको शोभित आङ तान्दै ढोका खोल्छ ।
“किन बज्यै ? किन बिहानै बिहान चिच्याउनु भाको ?”
मन्दिरबाट फर्किए जस्तै देखिएकी थिइन मिमि बज्यै । हातमा पितलको कोठे थाल थियो । कोठे थालको प्रत्येक कोठा भरिएका थिए । अबिर, केसरी, जौं तिल,स्याउका टुक्रा ले पितलको कोठे थाल भरिएको थियो ।

मुख अलि खुम्च्याउदै मिमि बज्यै भन्छिन “ल हेर मुख पनि धोको रैनछ बच्चोले । मन्दिरबाट फर्केको थे, माथि उक्लेसि तल झर्न गारो हुन्छ बुढी भइसके बाबै । तिमलाई टिका लाइदिउ कि भनेर चिच्याएको । मुख त धोको रैनछौ । ल ऐले पछि माथि आउ है टिका लाउन ।”
 “हस बज्यै म आउछु” भन्दै शोभित छेवैको बाथरुमतिर जान्छ ।
बज्यै खुट्टा खोच्याउदै माथि उक्लिन्छिन अनि फतफताउछिन “हेर अचेलका लाठेहरु के भाका होलान? राति ढिलो सुते, बिहान ढिलो उठे, के गर्छन कोनी त्यो मोबाइलमा? के जमाना आए बाबै उफ” आमै फतफताको शोभित सुनेर पनि चुपचाप लागेर बाथरुममा छिर्छ ।


आज मिमि बज्यैको कोठा मगमगाएको छ ।
आज सारै सफा पनि देखिन्छ बज्यैको कोठा ।
बज्यैले आफ्नै कोठामा भगवान कोठा राखेकी छिन।
परारतिर त माथिल्लो कोठासम्म पुगेर पुजा गर्थिन ।
भर्याङ्गबाट लडेपछि बज्यैको खुट्टाको हड्डी पनि सर्यो , बज्यैले पुजा कोठा पनि सारिन् ।
भगवान खुशी होउन भनेर मिमि बज्यैले आज हरहर बासना आउने महँगो धुप बालेकी छिन ।

 सदा त ३० रुपैया पर्ने बटारेको धुप जल्थ्यो उनको कोठामा बासना पनि न आउने बिडिको जस्तो धुँवा आउथ्यो ।
बज्यैलाई महिनै दिन पुग्थ्यो त्यो धुपले ।
शोभितलाई त्यो धुप बालेको बेला बज्यैको कोठा छिर्न पनि नपरेजस्तो हुन्थ्यो ।
 कहिलेकाहि त हाछ्युनै निकालि लिन्थ्यो धुपले ।

आज भने शोभितको मुखै उज्यालो पारिदिएको छ बज्यैको कोठाको धुपको बासनाले ।
शोभित इमान्दार लाग्छ मिमि बज्यैलाई ।
भाडामा त अरु पनि धेरै राखेकी छिन बज्यैले तर शोभित क्षेत्रीको छोरो भएर पनि होकि उनलाई आफ्नै नाती जस्तै लाग्छ ।

मिठो मसिनो बनाउँदा बज्यै जहिले शोभितलाई बोलाउछिन् ।
आज पनि मन्दिरबाट फर्केकै बेला टिका लगाइदिन मन थियो बज्यैलाई तर शोभित भर्खर उठेको भएर पछि आउनु भनि डाकेकी थिइन् ।
मन्दिरबाट ल्याएको प्रसादको पोको खोल्दै शोभित लाई जिस्काउदै भन्छिन मिमि बज्यै “बच्चो अचेल ढिला सुत्छ जस्तो छ, के के जाति हुन्छ रे नि मोबाइलमा , पर भाको मान्छेलाई नि टिभि मा जस्तै हेर्दै बोल्न मिल्छ रे नि । कोइ मैया त पट्टाको छैन नि बच्चोले नि ? यो उमेरै यस्तो हो मन चनचल हुन्छ बाबै ।” मिमि बज्यै निचिक्क हास्छिन बज्यैका अगाडिका माथिल्ला पहेला २ वटा दात टल्किन्छन् ।
शोभित बज्यैको कुरालाई टाल्दै भन्छ, “हो नि बज्यै अचेल त सबै हेर्न पाइन्छ नि मोबाइलमा, फिलिम हेर्न सिनेमा हलमा त जानुपर्दैन । सबै यहि मोबाइलमा आउछ ।”

खोइ बाबै हाम्रो पालामा त पारि गाउँका मान्छे त हेर्न जान नसक्ने जमाना थियो । घर पनि कति टाढा टाढा हुन्थे , यो शहरको गल्ली जस्तो होर ? सिनेमा हल भनेको त के हो भन्ने था पाएनन कतिले । मै बुढीले नि के था पाको छु र? एकचोटी छिरेको होइन सिनेमा हलमा ।”
यति भन्दै बज्यै पुजाको थालि अघि सार्दै शोभितलाई टिका लगाइदिन्छिन ।
शोभित पनि कपाल माथि सार्दै टिका थाप्छ ।
“बाबु कपाल बढेछ त काट्नुपर्दैन ? गुण्डा जस्तो देखिन्छ धेरै लामो नराख कपाल” प्रसाद दिदै बज्यै शोभितलाई सम्झाउछिन ।
“अनि भर्खर त साउन सकिदैछ बज्यै । क्षेत्रीको छोरोले साउनलाई नि ख्याल गर्नुपर्ने के गर्नु अब भोलितिर काट्छु नि बज्यै” प्रसाद ढोगेर खान्छ ।
“ल हेर बच्चोले म बुढीलाई लाटी सम्झेको ।” बज्यै कोठाको कुनातिर गएर पुजाको थाली राख्छिन अनि भगवानलाई ढोग्छिन ।
“मैले कैले हजुरलाई लाटी सम्झे र बज्यै”
तिमीले भुलेउ कि के हो आज भदौको ८ वटा दिन कट्न लागिसके । तिमी चाहि भर्खर साउन सकियो भन्छौ ?”

बज्यै खुट्टा खोच्याउदै किचेन तिर लाग्छिन । “आज तीज हो भन्ने नि था छैन कि के हो बच्चोलाई त ” बज्यै हिहि गदै हास्दै किचेन कोठामा छिर्छिन ।

हिजो राति रुन्चीसँग कुरा गरेको सम्झना आउछ शोभितलाई ।
तीजको ब्रत बस्छु भन्दैथि उसकी रुन्ची ।
उसले जिस्काको पनि थियो “दर पनि खायौ कि तीजको ब्रत मात्र बस्ने ?” “दर नखाइ ब्रत बस्न हुन्न र ? प्रतिउत्तरमा उसले प्रश्न सोझ्याएकी थिइ ।
“हुन्न नि तीजको ब्रत बस्न त दर खानैपर्छ। के गर्छौ रुन्ची अब तिमी ? दर पकाएर खान पनि रातिको ११ बजिसक्यो ” ।
शोभित जिस्केको रुन्चीले थाहा पाइन । एकछिन रिप्लाई आएन ।
केटी कता गइ भनेर उसले मोबाइलमै कल गरेको थियो ।
“कता गायब भाको अनलाइन बसेर ” रुन्ची बिस्तारै बोल्दै भन्दैथिइ , “किचेनमा आको छु के खीर बनाउकी भनेर” शोभितको खित्का छुट्छ एकछिन रुन्चीको सातो जानेगरि ।
“किन हासेको” भन्दै रिसाएर बोल्छे ऊ ।
“तिमीलाई भोक लाको छ कि नाइ भन त” हासो रोक्दै शोभित सोध्छ ।
“भोक त लाछैन” भन्छे रुन्ची ।
“त्यसो भए यो रातीमा दुख नगर । तिमीले ब्रत लिन पाउछौ रुन्ची । ल अनलाइन आउ त कुरा गरुम”  ऊ हस भनेर रुन्ची फोन राख्छे ।


रिसाको इमोजी आउछ इन्बक्समा ।
शोभितलाई हाँसो उठिराको हुन्छ अनि धेरै माया पनि लागिराको हुन्छ ।
बिचरा केही नजाने पनि उसको संस्कार अनि रीतिरिवाजमा घुलमिल हुन खोज्ने उसको रुन्चीको व्यवहारले ऊ दिनप्रतिदिन रुन्चीलाई चाहदै गइरहेको छ ।
रुन्चीको रिसको प्रतिउत्तरमा ऊ गुलाबको रातो फुल पठाउछ ।
ऊ झन बाँदर पठाउछे ।
शोभित रातो मुटु पठाउछ ।
ऊ रातो टाउको पठाउछे ।
शोभित रातो मुटु दुबै आँखाबाट निकालेको टाउको पठाउछ
ऊ केटाकेटी दौडेको जोडी पठाउछे ।
शोभित मुसुक्क हाँस्छ ।
छेऊमा रुन्ची हुँदि हो त कति माया जताउथ्यो होला कल्पना गर्छ ।
यति गफ चुट्दा रातको १२ बजिसकेको थियो ।
उनीहरु भोलि भेट्ने बाचा गर्छन ।
उसले रुन्चीलाई अब नुनु गरम भन्छ उसले हस भन्छे ।
शोभित मोबाइलको डाटा बन्द गरेर सुतेको हुन्छ ।


मिमि बज्यै चिच्याउदै शोभितलाई किचेनमा डाक्छिन् ।

शोभितले आज पनि दुध खान पाको छ ।

बज्यैलाई मन्दिरमा चढाको दुध जहिले पुजारी बाजेले दिने गर्छन ।
अचेल पोकाको दुध पनि चढ्छ मन्दिरमा ।
हुन त दुधको सदुपयोग पनि त हुन्छ ।
पोखेर फोहोर गर्नुभन्दा त यसरी पोकाको दुध चढायो भने भक्तजनको मन पनि खुशी पुजारी बा पनि खुशी फेरि फोहोर पनि नहुने ।
बज्यै सधै मन्दिर जान्छिन , केही न केही बोकेर ल्याउछिन मन्दिरबाट ।
उनी आफु भने त्यति रुचाउदिनन दुध पिउन ।
ग्याष्ट्रिक बढ्छ भन्छिन ।

मिमि बज्यै नुवाकोटबाट २५ वर्ष अगाडि काठ्माडौ आएकी हुन् ।
छोरा नातीसँगै बस्न आएकी बज्यैलाई घर जिम्मा लाएर छोरा बुहारी नाति सहित अमेरिकामा गएका थिए ।
उनलाई कसैको आस लाग्दैन् ।

मोबाइल पनि छैन, बज्यैको घरको नम्बरमा फोन आउछ कैलेकाहि अमेरिकाबाट ।
छोरा बुहारी अमेरिकामा के गर्छन कहाँ बस्छन उनलाई मतलब नै छैन ।
गाउमा दुख गरेर बसेकी बज्यैलाई शहरको गल्लीको घर जिम्मा लाएर गएको चित्त बुझेको छैन अहिलेसम्म पनि ।
आफ्नो छोराको घर आफ्नै हो भनेर मात्र कुरेर बसेकी हुन बज्यै ।
 २ वर्षको अन्तरालमा १५ दिनको लागि नेपाल घुम्न आउने छोरा बुहारीलाई जहिले एउटै प्रश्न गर्छिन “तिमीहरु नेपाल कैले आउछौ ? म कैले जाने गाउँ ?”
छोराको उत्तर सधै एउटै हुन्छ , “अब २ वर्ष पछि” अचेल छोराबुहारी पनि आमाको प्रश्नले नाक खुम्च्याउछन ।

बज्यै पनि ओठ लेप्राउछिन ।
बज्यैको रामकहानी शोभितलाई सबै था छ ।
बज्यैले धेरै पटक गुनासो सुनाको छिन शोभितलाई ।

आज पनि बज्यैले गुनासो सुनाउने छाटकाट देखाउदैछिन ।
उसलाई भने रुन्चीलाई भेट्न जानु छ ।
तिमी नआई म त मन्दिर गए नि पानी पिउदिन भनेकी छे उसकी रुन्चीले ।
११ बजिसक्यो १२ बजे त जसरी नि भेट्छु भनेको थियो उसले ।
कहिल्यै तीजको ब्रत नबसेकी केटी कता केही हुने होकि भन्ने उसलाई पिर पनि लागिरहेको छ ।
घरमा पनि के के भनेर टारेर ब्रत बसेकी छे ।
शोभित लाई आज बज्यैको कुरा रत्तिभर पनि सुन्न मन लाको छैन ।
के बहानामा फुत्किने भनेर जुक्ति खोज्दै छ ।

दुध पिइसके पछि शोभित हिड्न खोज्दे भन्छ “बज्यै मेरो साथी गाउँबाट आको छ, घरबाट आमाले तामाको अचार पठाउनु भाको छ रे म लिएर आइहाल्छु ल ?”
“धेरैबेर अल्मलिने होइन नि । आज गाडी तेति चलेको छैन । तुरुन्तै आउनु नि ।” बज्यै मन्दिरबाट ल्याएको स्याउको २ दाना दिदै शोभितलाई बिदा दिन्छिन ।
 स्याउको दाना बोकेर शोभित हतारिदै भर्याङ्ग ओर्लन्छ ।
झण्डै लड्छ पनि । “किन बत्तेको यसरी ? बेलैमा लौरो टेक्ने मन छ कि के बच्चोलाई होसले हिड है बाबै”
बज्यै माथिबाट चिच्याउदै हुन्छिन् ।
शोभित स्याउका २ दाना ओछ्यानमा फालेर ढोका लाएर रेल हुन्छ ।


भिडभाडलाई पन्छाएर शोभित पशुपतिको दक्षिण ढोकातिर कसैको पर्खाइमा छ ।
यस्तो जन महासागर उसले बेलाबेला देखेको छ ।
तर ऊ भित्रको छटपटि भने आज पहिलो पटक उसले महसुस गर्दैछ ।

यो भिडबाट कहिले उसको रुन्ची बाहिर निस्किन्छे भनेर ऊ आँखा झिमिक्क नपारी हेरिरहेको छ ।
१२ बजे भेट्ने कुरा थियो १ बजिसक्दा पनि त्यो सुनौलो अनुहार उसले हेर्न पाएको छैन् ।
किन बस्या होला ब्रत किन आको होला यो भिडमा ?
उसका मनमा अनेकथरीको डरले डेरा जमाइसकेको थियो ।
साथीको घरमा नोट लिन जाने बहानामा आको भन्दैथि बिहान दर्शनको लागि लाइन बस्दा फोनमा ।
कति रहर लागेको होला यो केटीलाई दुख पाउन ?

उसलाई रुन्चीको डर र चिन्ताले घेरेको छ भने माया भने बिछट्टै लागेको छ ।

ऊ बाटो छेऊको चिया पसलमा बसिरहेको छ ।
एकछिन अगाडि कहाँ छौ भन्ने रुन्ची शोभितले भनेकै पसलमा आइपुगेकी छे ।
गोरि केटी राती भाकिछे ।
थकाइले गलेकी रुन्चीको अनुहारमा छुट्टै उज्यालो छ । सायद शोभितलाई भेटेर होला ।
आज झनै राम्री देख्दैछ शोभित रुन्चीलाई ।
सुनौलो रंगमा राता बुट्टा भरिएको कुर्ता लाएकी छे । रातो अक्षताले अनुहारनै उज्यालो देखिएको छ ।
रातो रंगले पोतिएको उसको हत्केला समाउदै शोभितले उसलाई कुर्सीमा बस्न आग्रह गर्छ । “दर्शन गरेउ ?” उसले मायालु स्वरमा सोध्छ ।
केही लजाए जस्तो केही डराएजस्तो देखिएकी रुन्ची बिस्तारी जवाफ दिन्छे “गरे ”।
“पानी पिएको हो तिमले ?” शोभित अलि चिन्तितमा सोध्छ ।
रुन्ची छैन भन्ने संकेतमा टाउको हल्लाउछे ।
शोभित हत्तपत्त अघिदेखि किनेर राखेको मिनरल वाटरको बोटल खोल्छ अनि रुन्चीलाई पानी पिलाउछ ।

रुन्ची एकैचोटी पानी पिउन सक्दिन ।
 उसलाई धन्नै पानी सर्किन्छ, ऊ खोक्छे ।
शोभितको आँखा रसाउछ । उसले केही भन्दैन् ।
साहुनी सँग गिलास माग्छ । साहुनीले झट्टै गिलास ल्याउछिन् ।
गिलासमा हतारहतार पानी सारेर रुन्चीलाई दिन्छ ।
अघिदेखिको शोभितको छटपटि हेरिरहेकी रुन्चीसँग शोभितको नजर जुध्छ । दुवैको आँखामा मायाका हजार भाव छल्किन्छन् । तर दुबै मौन बस्छन् ।

भेट्दा धेरै कुरा गर्न लाज मान्ने दुबैजना फोन अनि च्याटिङ्गमा जति पनि गफ गर्न सक्छन् ।
तर आज शोभितलाई रुन्चीको धेरै माया लागेको छ ।
नेवार समुदायकी केटीसँग उसको गहिरो माया बसेको छ ।
ऊ आफैमा क्षेत्रीको छोरो हो । उसलाई जात धर्म समुदायको दायराले कहिले माथि उठ्न दिएको छैन।

ऊ आफ्नो संस्कारको पालना गर्ने केटो हो ।
तर ऊ भित्र मायाको भाव जाग्यो अनि पवित्र सम्बन्धको तृष्णा जाग्यो जब उसले रुन्चीलाई नजिकबाट चिन्न थालेको थियो ।

“तीजको ब्रत बसेर आफ्नो आत्मा सन्तुष्टि हुन्छ भने मात्र ब्रत बस्नु रुन्ची । यसरी रहर गरेर होइन् । हामी धर्मनिरपेक्ष राष्ट्रमा बस्छौ । यहाँ सबै धर्म, जात, भाषा, रीतिरिवाजको सम्मान हुन्छ । बाँकी रह्यो तिम्रो र मेरो सम्बन्ध, यसको पनि समयले निचोड निकाल्छ । यसरी तिमी निराहार ब्रत बसेर हाम्रो सम्बन्ध स्वीकार्य हुनेछैन लाटी”

उसको मुखबाट फुस्केको लाटी शब्दले बिहान आफैलाई लाटी भन्ने मिमि बज्यै याद आउछिन् अनि चाडै आउ भनेको कुरा नि सम्झिन्छ ।

आधा दिनको ब्रत सकेकी रुन्चीलाई शोभितले रोटी तरकारी खुवाउछ अनि ऊसँगै आफु पनि खान्छ ।

शोभितसँगै बसेकी रुन्ची पनि खुशी हुँदै रोटी खान्छे ।
 एकअर्कालाई रोटी तरकारी खुवाउदै खुशी हुन्छन् ।
“आत्मा सन्तुष्टि कहाँ छ ? आफ्नो मान्छेको लागि लिएको भोको पेटको ब्रतमा कि आफ्नो मान्छेसँगै बसेर खाएको रोटीमा ?”
कहिले पनि तीजको ब्रत नबसेकी नेवार्नी केटी अनि कहिले पनि यसरी खानाले तृप्त नभएकी एउटी प्रेमिका आफैसँग प्रश्न गर्छे ।

साँझको ५ बजे दुइ  हँसिला अनुहार छुटिन्छन् भरे फेरि मार्क जुगरवर्गको करोडांै अटाउने चौतारीमा भेट हुँने बाचामा ।

रेश्मी लामीछाने


Comments