‘ तिमीलाई थाहा छ तिम्रो र मेरो कथाको अन्त्य??’
मैले निच्च अगाडिका कोदाला जस्ता दाँत देखाएर अर्थबिनाको हाँसो हाँस्छु ।
उसले गरेको यो प्रश्न कति सजिलो थियो हाम्रो लागि , साच्चिनै हाम्रो कथाको अन्त्य निश्चित नै छ ।
कस्तो नमिठो लाग्यो आफैलाई आफ्नो हाँसो ।
तर उसले देखिन ।
कसरी देख्छे ऊ त आफ्नै रुममा छे अनि म पनि आफ्नै रुममा, कुरा पो च्याटरुममा हुँदैथियो ।
‘ कथा भनेको कथा नै हो अन्त्य निश्चित होला तर एकादेशमा सधैभरी रहिरहन्छ । हाम्रो कथा प्रत्येक चोटी सुरु हुनेछ अनि अन्त्य पनि । फेरि अन्त्यसँगै सुरु हुनेछ ’।
मोबाइल बज्छ । म हेर्छु । उसैको रहेछ । अचम्म परे अनलाइन कुरा गर्न छोडेर एक्कासी किन फोन गर्याहोला ।
‘ हेलो.. उम भन, किन यता कल गर्या ?’
‘ मलाई तिम्रो आवाज सुन्नुपर्यो तेहि भएर कल गरेकी । ’
लामो सास अनायासै बाहिर आउछ ।
ऊ यस्तै छे उसलाई के हुन्छ था छैन । एकैछिनको बेचैन पनि सहन सक्दिन , नम्बर डायल गरिहाल्छे ।
‘ आवाजले मात्र पुग्छ त तिमीलाई ? ’ म जिस्काउछु ।
‘ अरु मलाई के नै चाहिएको छ र ? ’ मन कटक्क खान्छ । छेउमा हुन्थी भने कति मायाले उसको निधार चुम्थे होला।
‘ अनलाइन नै आउन किन हतारिएर यता कल गरेकी ? ’
‘ यतिक्कै हो के ’। ऊ बच्चा जस्तै बोल्छे ।
‘ लल म उतै आउछु । ’ उ फोन काट्छे ।
उसको यस्तै बानी छ , मलाई केही भन्दिन उसको मनमा अनेक थरि कुरा खेल्छन अनि यस्तै प्रश्न तेर्साउछे । आज जस्तै ।
उसलाई थाहा छ अनि मलाई पनि हाम्रो सम्बन्धको अन्त्य निश्चित छ ।
तर थाहा छ कथाको अन्त्य अवश्य छैन् ।
किनकी यो कथा लेखिनेछैन् । बस पात्रले भोग्नेछन् ।
पात्रको अन्त्य निश्चित भए पनि यो कथा फेरि दोहोरिने अर्कै नयाँ पात्रहरुका साथ किनकी परिवेश उही छ ।
समाज उही छ अनि चलनचल्ती पनि उही ।
साधारण वार्तालाप पछिको हाम्रो निकटता विस्तारै विस्तारै झाँगिएको हो ।
हामी एक अर्कालाई कहिल्यै प्रश्न गर्दैनौ, किन हामी आफ्नो सिमानालाई तोड्न सक्दैनौ ?
जुन कुरालाई हामीले नकार्न सक्दैनौ त्यो कुरालाई हामीले कहिल्यै हामी बीच ल्याएनौ ।
उसले जति मलाई कहिल्यै कसैले बुझेन ।
सायद कसैलाई दिल खोलेर माया गर्न सकियो भने आफुभित्रको पिडालाई पनि कुल्चेर अघि बढ्न सकिन्छ भन्ने कुरा उसैबाट थाहा पाएको छु ।
जुन माया मेरो मनमा उसको लागि अँकुरिदैथियो । त्यो दिन थाहा भयो उसको मनमा मेरो लागि मायाको बोट झाँगिएर पनि फल पाकिसकेको थियो ।
कति अचम्म थियो त्यो दिन उसलाई मेरो मनको कुरा सुनाउँदा ।
उसका आँखा रसाए ।
उसले मिठो पिडाको अनुभुति गरेको यो मनले थाहा पाएको थियो ।
न खुशी न नै दुखि ।
एक तमासको व्यग्रताले सायद उसलाई गलायो । सानो तर सफा क्याफेमा कालो चिया पिउदैथियौ हामी मैले मेरो मनमा अँकुराएको मायाको फुलको व्याख्या गर्दा । उसले केही नबोली अब यहाँबाट निस्किउ भनि । मलाई असहज भयो ।
बेकार मनको भाव व्यक्त गरेजस्तो भयो । चियाको पैसा ऊ आफैले दिइ ।
ऊ अघि अघि हिडि अनि अलि पर पुगेर भनि । ‘मलाई साँच्चै थाहा थिएन यो दिन आउछ भनेर ’
मलाई सबै अँधेरो लाग्यो । केही भनिन ।
ऊ भन्दै गई, ‘ हो मलाई साँच्चै यस्तो दिन आउला थाहा थिएन ।
जसलाई चुपचाप मनमा राखेर बाहिर अभिव्यक्त नगरि सामान्य भेटघाटमा जीवनको बहुमुल्य उपहार सम्झेर भेट्दै आइरहेकी थिए , आज उसले पनि मलाई चाहन थाल्यो भनेर ।
तिम्रो र मेरो सम्बन्धको सुरुवात नसोच्दैनै अन्त्य छ भन्ने जान्दाजान्दै पनि तिमीलाई माया गर्ने साहस जुटाउने मैले आज तिमीलाई पनि दुरुस्तै भेट्दा के भनु ? जुन भाव आज तिम्रो मनमा मेरो लागि छ नि, त्यो भाव मनमा बोकेर कैयौं पटक म तिमीलाई भेट्न आएकी छु ।
जसरी आज तिमी सम्भव छैन भन्ने जान्दाजान्दै पनि चाहन बाध्य छौ नि यो बाध्यतासँग म २ वर्ष अगाडिनै लडिसकेकी छु ।
मैले त मन बाँधेर हिडेकी थिए, तिमीलाई थाहा नै नदिई । लाग्थ्यो तिमी तिम्रो आफ्नै संसार बनाउदैछौ । भोलि अरुसँगै देख्न परेपनि म त्यो पिडालाई पनि सहन सक्छु भनेर आँटेर हिडेकी थिए ।
अब मेरो क्षमताको बाँध टुट्यो । म खुशी पनि छैन अनि दुखी पनि छैन । तर तिम्रो र मेरो पिडा अब एउटै भयो । तिमीले मलाई अनि मैले तिमीलाई एउटै घेरामा पाउनेछौ । जुन पिडामा म एक्लै थिए अब यो पिडामा पनि तिमी मेरो साथी भयौ । ’
ऊ बोल्दा उसको अनुहारको भाव, रसाएका आँखा, उसले फेरेको लामो लामो सास सबै बोलेका थिए ।
म उसलाई हेरिरहे बस हेरिरहे ।
म सँग केही शब्द नै थिएनन् ।
कसरी उसलाई संसारको सारा खुशी दिउ जस्तो लाग्यो ।
जसको मायामा गलेर उसँग साहस जुटाएर मनको भाव पोखे ऊ त पहिले नै डुबिसकेकी रहेछ ।
कति छटपटि अनि अभावमा उसले आफ्नो संसारमा बाँचिरहेकी रहेछ ।
उसको सामु आफुलाई निरिह पाएको थिए त्यो दिन ।
सडकको पेटीमा उभिएर ऊ बर्बराएकी थिइ ।
ओहोरदोहोर गर्नेले पनि सुने होलान ,गाडी कुरिरहेका छेवैका मान्छेले पनि सुने होलान ।
न उसले ति मान्छे देखि न नै मैले उसको आवाज बाहेक अरु केही सुने न उसको अनुहारको भाव बाहेक केही देखे । उसको मोबाइलमा फोन आएसि उ रोकिइ अनि म पनि ऊ सँगै उसलाई सुन्न र हेर्न रोकिए ।
उसलाई छुट्नु पर्ने भयो । मैले उसलाई माया अनि पिडा बोधको हाँसोले बिदा गरे ।
८८८८
मोबाइल बज्छ । हत्तेरी उसलाई बोलाएर म चाहि अफलाइन नै पो रहेछु ।
फोन काट्छु ।
‘ अनि खाना खाको हो तिमीले? ’
‘ओ हेलो ’
‘ का गयो यो बाँदर ? ’
रोको, रिसाको, मायाको....के के हो के के भावको इमोजी पठाउन भ्याइसकिछे ।
ठुस्केर बसिहोलि भनेर सिधै गुलाब पठाए ।
उसले पनि गुलाब फिर्ता दिइहाली अनि ढुक्क भयो ।
धन्न आज फकाउनु परेन ।
‘ तिमीले खाना खाको हो? ’
‘उम खाए , भोलि भेट्ने हामी ? ’
उसको प्रश्नको उत्तर दिन गारो त होइन तर थोरै समयले अचेल मलाई चित्त नै बुझ्न छोडेको छ ।
‘ कुन समय? तिमीलाई त थाहा छ म बिहान मात्र भ्याउछु । ’
‘मैले पनि बिहान नै भन्या हो बुद्धु , दिउसो त मेरो नि फुर्सद छैन भोलि ।’
‘ हस रानी साहिबा हजुरको जो मर्जि । ’
‘ हस राजा साब । ’
ऊ गुलाब सँगै मायाले ओतप्रोत इमोजी पठाउँछे ।
म पनि उसले भन्दा बढि माया देखाउन खोज्छु अनि उसले पनि नपठाको किस गरेको इमोजी पठाउँछु ।
अघि जुन रफ्तारमा उसले माया देखाकी थिइ , अब त्यो रफ्तार पुरै सेलायो ।
ऊ एकछिन रोकिइ ।
‘ अब सुतुम बाँदर । ’
प्रतिउत्तरमा उसले किस पठाइन ।
सायद केटी लजाई ।
मैले पनि अलि बढि नै माया देखाएकि जस्तो लाग्यो ।
लाज पनि पो लाग्यो बाबै ।
के गर्नु एक कदम अगाडिनै बस्नुपर्छ यो केटाको जातलाई ।
‘ हस बादर्नी अब सुतम भोलि सकेसम्म छिटो आउ है अलिबेर बस्न पाउँछ । ’
‘ हस बाइ बाइ । ’
मैले बाइ लेखेर छोड्दासम्म ऊ अफलाइन हुन्छे ।
म लामो सास फेर्छु अनि मेरी बादर्नी सम्झिन्छु ।
उ किन यती प्यारी छे सोच्छु ।
कस्तो मन हो उसको बस माया मात्र दिने ?
अचेल उसँग म नजिक हुँदैछु ।
उसका हरेक कुराले मलाई छुन्छन ।
पहिले म बोल्थे ऊ सुन्थी । अचेल म मौन छु , बस ऊ बोल्छे ।
एक तमास उसलाई हेर्न अनि सुन्न मनपर्छ मलाई ।
८८८८
जुन दिन मैले मेरो अँकुराएको मायाको कुरा गर्दा उसले आफ्नो कुरा राख्दै बर्बाराएकी थि त्यो दिन उसँग छुटेपछि मलाई धेरै सकस परेको थियो ।
मेरो खुशीको सिमा थिएन उसले मलाई यति व्यग्र चाहन्छे भन्ने थाहा पाउँदा ।
अनि फेरि तेतिकै मुटु पनि पोलेको थियो किनकी हाम्रो मायाको अन्त्य निश्चित छ जान्दाजान्दै पनि ऊ पहिलेनै मायामा चुर्लुम्म डुबेकी थिइ र म अहिले ।
त्यो दिन ऊ रुँदै गइ होला ट्याम्पु चढेर अफिसतिर ।
तर म अफिस जान सकिन ।
मलाई त्यो दिन काम गर्न मन लागेन ।
म बहाना बनाएर गए साथीलाई भेट्न ।
अनेकन छटपटिले एकैचोटी अट्याएको थियो त्यो दिन मलाई ।
ऊ छुटेर जानुपुर्व उसलाई बेस्सरी अँगालेर किन चुमिन होला मैले जस्तो भो ।
सबैलाई भुलेर एकपल उसैसँग रमाउ, मायाको भारी बिसाउ जस्तो भो ।
म सोच्दैसोच्दै साथीको होटलमा पुगे ।
म अक्सर उसलाई भेट्न गइरहन्छु ।
यसरी उसको होटल जान थालेको पनि बर्सौ बितेको छ ।
अचेल मलाई उसको होटल जान खास लाग्छ किनकी मानवीको अफिस पनि त्यही एरियामा पर्छ ।
म साथीलाई भेट्न जाँदा कहिलेकाही बादर्नीको तिर पनि गको छु बहाना बनाएर ।
तर त्यो दिन जान सकिन ।
ऊ यहि बाटो हिड्छे ।
कैयौंपटक मलाई सम्झेर हिडेकी होला ऊ यो बाटोमा ।
आज पनि रसाएका आँखामा मलाई राखेर हिडि होला ऊ ।
त्यसैत्यसै मलाई त्यो बाटो आफ्नो लाग्यो ।
हेरिरहे एकोहोरो बाटोतिर ।
‘ ओ हिरो के हो पारा हेल्मेट पनि नखोलि बाटोतिर ध्यान छ त । किन टोलाको यसरी ? कोइ मैया आउँदै छ क्या हो ? ’
म झस्किए ।
पछाडितिर बिक्की थियो ।
हामीले हात मिलायौ अनि मैले उसलाई हग गरे ।
त्यो दिन उसलाई देखेर म खुशी भएको थिए सदा भन्दा ।
उसले मैले गरेको हग ले नै स्पेशल केही त छ भन्ने बुझ्यो अनि प्रश्न पनि गरिहाल्यो , ‘ टेडी डे मा केही स्पेशल भोकि के हो पासा को ? ’
हेल्मेट खोल्दै म निच्च हाँसेमात्र ।
‘ चिया खाम न यार, ब्ल्याक है ? ’
ऊ हास्यो अनि भन्यो , ‘ सदा त कर गर्नुपथ्र्यो आज त पासाले आफै चिया माग्छ त, त्यो पनि ब्ल्याक ’
त्यो दिन किन किन मलाई मानवीको याद बाट कतै टाढा जानु नै थिएन ।
राता रँगले सजिएका टेबलहरु । रातै रँगको कपमा खाएको ब्ल्याक टि, आँखा अगाडि झुन्डिएका राता रँगका टेडी वियरहरु, खैरो अनि कालो रँगको लुगामा सजिएकी उसलाई भेटको घण्टा बितेको धेरैबेर नहुँदा पनि फेरि घरिघरि ब्ल्याक टि खाने इच्छा जागेको थियो ।
बिक्की मेरो अघिल्तिर बस्यो । मुसुक्क हाँस्यो र भन्यो ‘ एउटा कुरा भनु पासा ? ’
‘ भन न यार के कुरा हो । ’
‘ बुहारी नानीको खबर के छ? कता छिन आजकल ? ’
म अवाक्य भए । उसलाई हेरिरहे ।
हाँसो, लाज, डर ले एकैचोटी अँकमाल गर्न आए ।
‘ के भन्छ पासा ? को बुहारी ? कसको बुहारी ? ’
म अलि चनाखो हुन्छु ।
‘ पुरा मज्नु पारामा हिडेको छ । टोलाएर बसको छ अनि बिहान बिहानै हिरो भएर हिडेको छ । नढाँटी भन त डेटिङ्ग गाको होकि होइन ? ’
मैले बिक्कीलाई झुक्याउने केही बहाना पाइन । मलाई मानवीको यादले छोडेको पनि थिएन ।
म चलाखो भएर कुरा लुकाउने अवस्थामा नै थिइन ।
‘ अँ यार भेटेर आको । ठिक छ उसको खबर । ’
‘ अनि आज भन्देको हो त मनको कुरा ? ’ बिक्की सिधै प्रतिप्रश्न गर्छ ।
‘ अँ भने पनि अनि सुने पनि । ’
‘ यार बिक्की ऊ लास्टै चाहन्छे मलाई, मैले भन्दा पनि धेरै । सुरुका भेटघाट देखि नै चाहनेरैछ यार । ’
‘ ल बधाई छ पासा । ’ उसले काधमा थपथपाउँछ ।
‘ तर यार हाम्रो रिलेशन अगाडि जान्न । ’ म चस्मा टेबलमा राख्छु ।
‘ किन नी त्यस्तो फेरि ? ’ ऊ अलि अँधेरो हुन्छ ।
‘ म उसलाई टाइमपास सोच्न सक्दिन अनि लाइफपार्टनर त सक्दैसक्दिन त्यो तिमीलाई पनि था छ ।
‘ ह्या यार छोड अब यस्ता कुरा अहिलेको जमानामा ।
भगाएर लग हाम्रो गाउँतिर । एक महिना हनिमुन मनाएर आउ त्यसपछि घरमा सबै ठिक हुन्छ । ’
बिक्कीले सहज रुपमा बोलेको सुन्दा तेसै गरु जस्तो लाग्यो तर चियाको सुरुप सँगै उसले बिहान भएका कुरा याद आयो ‘हाम्रो दायरा ’ को ।
सबैतिर सोच्दा फेरि जिवन कालोमैलो भो ।
मैले बिक्कीलाई यो कुरा पछि गरौं भने ।
चिया सकेर बिक्की थोरै आफ्नो काममा बिजी भयो । मैले उसलाई अनलाइन मेसेज गरे ‘पुग्यौ ? ’ भनेर ।
एकछिनमा रिप्लाई आयो अघिनै पुगेको भनेर ।
‘ मैले लेखे रुदै गाको हो तिमी बिहान छुट्नेबेला ? ’
उसले मेसेज हेरेर रिप्लाई दिइन । अलिबेर पछि पठाई ‘ के लाग्छ तिमीलाई ? ’
‘ रोएजस्तो लाग्यो मलाई त । ’
‘ ठिक बुझेउ । ’
लामो सास आयो अनायासै ।
नजिकमा भएकी भए हेर्थे कि चुम्थे या त अँकमाल गर्थे ।
जे गर्थे बस मायाले गर्थे जस्तो भो त्यो बेला मलाई ।
‘ ल धेरै नसोच । आफ्नो ख्याल गर । सबै समय सँगै ठिक हुँदै जान्छ । २,३ दिनमा भेटौला है । ’
उसले हस सँगै सहमतिको इमोजी पठाई ।
भेटेको ३ दिनपछि भ्यालेनटाइनमा उसलाई भेटे ।
त्यो दिन ऊ माया लाग्दी देखिएकी थिइ धेरैनै ।
राम्री कम माया लाग्दी ज्यादा देख्छु म उसलाई ।
उसले पनि मेरो मनको भाव थाहा पाको अनि मैले पनि उसको मनको भाव थाहा पाको भएर होला हामी त्यो दिन धेरै बोलनौ ।
अप्ठेरो, लाज , डर के के लाग्यो लाग्यो । बरु च्याटमै सजिलो ।
कफी अनि फिङ्गर चिप्स खाएर छुट्नेबेला मैले उसलाई मायाको चिनोमा एउटा पुस्तक दिए उसले हेरि अनि थ्याङ्क यु भनि ।
८८८८
भाइबरमा कल रिङ्ग बज्छ, म झसङ्ग हुन्छु ।
बिक्कीको फोन रैछ ।
मलाई झ्याउ लाग्छ ।
बादर्नीलाई बाइ भनेको पनि पो आधा घण्टा बितेछ ।
के सोचेर बस्या होला आफैलाई प्रश्न गर्छु ।
बिक्कीको फोन उठाउदिन अनि अफलाइन हुन्छु ।
बत्ति बन्द गरेपछि पनि मेरी मानवीलाई बादर्नी भनेर बोलाउँदा झनै मायालु लाग्छे मलाई ऊ ।
सुत्ने बेला बादर्नी याद आउछे ।
उसको अनुहार सम्झिदै भोलि बिहानको पर्खाइमा म सुत्छु ।
रेश्मी लामीछाने

कथा राम्रो छ.. ..नव युवा युवतीको मन छुने खालको.... हुन त अरु पनि अछुतो नरहलान .. !!
ReplyDeleteधन्यवाद।
ReplyDelete