आज ल्होसार ।
काठ्माडौंबासी सबैले मनाइरहेका छन्
काठ्माडौं प्रवेश गर्नेले पनि अनि काठ्माडौं छोड्नेले पनि ।
सडक पुरै ओगटेको जनमहासागर को पदयात्राले धने र उसँगै हिडेका २ साथीलाई खुबै सास्ती परेको छ ।
भन्नेले केके भनेर बोलाए , बाग्लुङ्गबाट हान्निएर आएको छ २ सेनापति पनि बोकेर ।जापानमा गएर टन्न पैसो कमाउने सुरमा ३ जना आएका छन काठ्माडौं जापानिज भाषा पढ्न ।
श्रमभिसामा जापानको सरकारले दिएको स्वीकृतिको समाचार उसलाई तुरुन्तै बलराम काकाले सुनाएका थिए फोनबाट । भाषा सिक्दा २५ हजार लाग्छ भनेर उसलाई बलराम काकाले भनेका थिए ।
५ वर्षमा कतारमा बसेर रित्तै फर्केको धनेलाई २५ हजारसमेत कसैले नपत्ताएपछि उसले सानीआमा कि छोरी ( बैनी ) सँग मागेर ल्याको छ । पैसो लिन जाँदा पनि ज्वाँइले सुद्ध आँखा तरे तर केही भनेनन् । भनुन पनि कसरी त्यै जेठानले गर्दा बैनी बिहे गर्न पाका तिनले । धनेले कुरो नमिलाई दिएको भए उनीहरुको ५ वर्षको माया प्रिती चैट हुन्थ्यो । उसँग हिँडेका बमे माइलो अनि रन्जिते को पनि अमिलो कथा छ । तर जे होस केटाहरु सुरिएर भाषा पढ्न आएका छन् ।
कलंकीमा अलपत्र परेर बसेको छ धने । अनि झनै अलपत्रमा उसँग आका केटाहरु परेका छन् । चुच्चे नाक, बाघ जुङ्गे, गाला खाल्टा परेका, ओठ सुकेर पाप्रा निस्केका छन् । कही नभएको दाउरे जिउ लिएर दुवै हात कम्मरमा राखेर खुइइ खुइइ गर्दै सास फेर्दै गरेको धनेको चेन खोलको ज्याकेटभित्रको सर्ट पनि खुम्चिएको छ । कठै त्यति टाइट सर्टमा पनि अलिकति भएपनि उसको पेट उठेको देखिन्न ।
कालो क्याप लाएको धने कलंकीको बीच बाटोको पुलको छेउपट्टी उभिएर रामरमिता हेर्दैछ । उसले पछिल्लो पटक कलंकीको जाम खेप्दै घर जाँदा आकाशेपुल थियो, बाटो पनि साँघुरो थियो । ऐले उसलाई कलंकी देखेर रिंगटा लागेको छ । फराकिलो बाटो, बाटोमुनी गाडी दौडेका छन फिलिलि, कुन बाटो कता जान्छ नै उसलाई पत्तो भाको छैन । कतारमा छँदा ३० दिनै काम गरेको धनेले त्यहि मात्र यस्ता पुल देखेको थियो । काठ्माडौंमा बाटोले देको पिडा सहनेले सायद काठ्माडौंको विकास देख्न सक्दैनन् । तर धनेले रिंगटै लाग्नेगरी विकास भाको देख्यो ।
ऊसँगै आएका बमे माइलो र रन्जिते त झनै पहिलो चोटी काठ्माडौं आएका थिए । उनीहरुको आँखा बाघका जस्ता ठुला अनि राता राता भएका थिए । बिहानै पोखरा आइपुगेका उनीहरुलाई माइक्रोमा हुत्याउँदै खलासीले हालेको थियो । केही पनि नखाको बमेले उल्टी गरेर हुइया भाको छ । हिड्दा पनि हुत्तिदै हिडेको बमे माइलो आँखाबाट रगत चुहुला जस्तो भाको छ । बाहिरी दुनियाँ अजिब देखेको उसलाई भित्री दुनियाँ झन दर्दनाक छ ।
सातो गाको जस्तो बमे माइलो लाई देखेर रन्जिते झनै बिरत्तिएको छ । ठुलो बाउलाई फकाइफकाइ बमेको काठ्माडौं जाने स्वीकृति पाको रन्जितेले बमेलाई ४ चोटी कुइँयाइ सकेको छ । जे अचम्म देख्यो त्यतैतिर टाउको सोझ्याउँदै जाने बमेले रन्जितेलाई दिनु दुख देको छ । छड्किदै जाँने भाइलाई हेरोस कि नाइके धनेलाई हेर्दै हिडोस । धनेको क्याप हरायो भने उनीहरु आफै हराएर अलपत्र होलान भन्ने डर , धनेको धुलाम्मे भाको क्यापको पछि लाग्यो भने साले बमे कुनबेला छड्किन्छ भन्ने नै था हुन्न ।
काठ्माडौं छिरेको २ घण्टामै उनीहरुले नदेखेको दुनियाँ देख्नेमात्र होइन भोग्नु भोगिसकेका छन् ।
साथमा केही पनि नबोकेका ३ जनाको साझा एउटा पातलो ब्याग छ जुन रन्जितेले बोकेको छ । अघिदेखि अघि र पछि गर्दै भिडभाडमा लम्केको रन्जितेले भने एले आराम पाएको छ । बाक्लो लुगा लाको रन्जिते सँगैका २ साथी भन्दा हट्टकट्ट देखिन्छ । खाइलाग्दो ज्यानको रन्जिते चाहि अलि चनाखो देखिन्छ अरुभन्दा अनि अलि ठुलो पनि ।
कान छोपिने गरी आमाले बुनेको उनीको टोपी लाको रन्जिते र सुकेको दाउरो जस्तो भाको बमे माइलो फेरि धनेको पछाडी दगुर्छन । उनीहरुभन्दा चारपाइला अघि अघि दगुरेको धनेलाई पछ्याउन उनीहरुलाई हम्मे हम्मे परेको छ । मान्छेको भिड, पोका बोकेर गाडी चड्न दगुरेका अरु मान्छेसँग ठोकिदै दगुरेका बमे र रन्जिते धनेले पछ्याएको गाडीको पछिपछि छन् ।
धने गाडीको पछाडी दगुर्दै गाडीमा झुण्डिएको खलासीलाई सोध्दैछ,
”मध्य बानेश्वर जान्छ ?“
माइतीघर, बानेश्वर, कोटेश्वर, बालकोट भन्दै हातले तानुला झै गरि बोलाएको खलासी एकछिन चुपलाग्छ ।
खलासी एकछिन झुक्किन्छ अनि भन्छ ”बानेश्वर जान्छ“
जामले गर्दा गाडी रोकिन्छ । धने ती २ हरुलन्ठुहरुलाई हातको इसारा अनि अनुहारको गाडी छुट्छ कि भन्ने चिन्ताका साथ बोलाउँछ । दुवै हात कम्मरमा राखेर पेटलाई च्यापेर धने अगाडीपट्टी घोप्टिन्छ अनि लामो सास फेर्दै सिधा भएर फेरि चमेरो जस्तो झुण्डेको खलासीलाई सोध्छ ”मध्यबानेश्वर जान्छ ?“
खलासी केही नभनी ”अँ जान्छ चढ्नु“ भन्दै आफु ओलिन्छ । तेति बेलासम्म पनि बमे र रन्जिते गाडी भाको ठाउँमा आईपुगेका हुँदैनन् ।
जाम खुल्छ, गाडी फेरि अगाडि बढ्छ । खलासी फेरि झुण्डिन्छ ।
गाडी अलि पर पुगेर फेरि जाममा पर्छ । धने,बमे,रन्जिते गाडीतिर लम्किन्छन् । खलासी आर्लेर पालैपालो ३ जनालाई गाडिमा कोच्छ । भित्र छिर्दैगर्दा फेरि धनेले सोध्छ ”मध्यबानेश्वर जान्छ नि ?“यो पटक भने खलासीले जवाफ दिन्न ।
गाडी अघि बढिरहेको छ तर गाउँमा छोरीमान्छेहरुले ऋषी पञ्चमीको दिन पञ्चमी पाइला चालेजस्तो गतिमा गाडि हिडिरहेको छ । बमे हेर्दा सबैभन्दा रोगी अनि सानो पनि छ । खलासीले भित्र कोचेपछि उसले अँधेरो भन्दा केही देखेको छैन् । ठेलमठेलमा परेको बमेले बल्ल बल्ल ड्राइभरको पछाडी पट्टि उभिने मौका पाउँछ । उसको छेउमै झ्याल छ, त्यो झ्यालबाट चिसो बतास आइरहेको छ । त्यो चिसो बतासले यसलाई उल्टी होला होला जस्तो भाको अलि कम हुन्छ ।
धने कतै समाउने ठाउँ भेट्दैन । ऊ उभिएरै अडिएको छ । त्यो भिडमा कसैको ढाढ, कसैको भुँडी कसैको घुँडा, कसैको कुहिनाले नै उसलाई अड्याएको छ ।
रन्जिते भने खलासीसँगै झुण्डिएको छ । बाक्लो लुगा लाको उसलाई त्यो भिडको उकुसमुकुसले झनै पोल्छ , सास फेर्नै गारो होला जस्तो भएर ऊ खलासीसँगै ढोकामा झुण्डिएको छ । खलासी बेलाबेला उसलाई भित्र जाउ भन्दै कोच्न खोज्छ । रन्जिते जबर्जस्ती ढोकामा झुण्डिरहेको छ ।
कतै यात्रु ओर्लिनेबेला ढोकाको मान्छे ओर्लिनुपर्दा रन्जिते गाडीले छोडेर जालाकि भन्ने डरले ढोको डण्डीमा झण्डिरहन्छ अनि यात्रु ओर्लिनासाथ माथि चढिहाल्छ । हावाको स्याठले उसको नाक रातो भएर पानी आउन थाल्छ । चिसो भएर उसको नाक पोल्छ । मुख चुच्याएर माथिल्लो ओठले नाक छुन्छ । ओहो मुख बिगार्छ , चिसो नाक र सिँगानले एकैचोटि आक्रमण गर्छन । नाक देब्रे कुमतिर घुमाएर ऊ सिँगान पुच्छ ।
अघिदेखि कर्के नजरले हेर्ने खलासी जंगिदै भन्छ , ”ओइ तिम्रो त्यो सिँगाने जिउ यता नल्याउ त,, उ उ ... मलाई लाग्न लाग्यो “। रन्जिते खलासीसँग डराएर ढोकाको डण्डीको सहारामा अगाडीतिर तन्किन्छ ।
गाडी बानेश्वरको जाममै छ । धनेहरुलाई खलासीले ओरालिसकेको छ । रन्जितेले ज्याकेट भित्रको स्वेटर अनि त्यो भित्रको सटको पकेटमा राखेको पैसा झिक्न निकै बेर लाइरहेको छ । खलासी आँखा तर्दै उसको नखरा हेरिराछ । छिटो गर न भाई भन्दै हिड्न लाको गाडीलाई हानीराछ । बल्ल बल्ल १०० को नोट निकाल्छ । खलासीले ४० रुपैयाँ दिएर १०० को नोट समातेर गाडीलाई हान्दै दौडिन्छ ।
अब त उभिन पनि नसकेको बमे बसेर ती २ लाई हेर्छमात्र ।
मध्यबानेश्वर जाने बाटो अघि बाठो भएर रन्जितेले खलासीसँग सोधेको थियो ।
तर के गर्नु उसलाई जता देखाएपनि के भेउ पाउनु र ?
धने काकालाई फोन लाउछ ।
काकाले भनेजसो गर्दै पछाडिका साथीलाई हातले बोलाउँदै मध्यबानेश्वरको ठुलो बाटोतिर लाग्छन् ।
धनेको काका बलरामले बमे र रन्जिते दुवैलाई राम्रोसँग चिन्छन । त्यसैले पनि धनेले सँगै ल्याको छ , नभए त काठ्माडौंमा कसले कसलाई बास दिनु ।
गाँठी कुरा त धनेलाई पनि थाहा छैन, काकाले ३ जना भाषा सिक्ने लगेर इन्स्टिट्युटले उनलाई कमिशन दिन्छ भनेर । अलि दिन कोठामा राखेर एउटा होटलमा लगिदियो भने केटाहरुले काम पनि पाउछन बास पनि अनि काकाले गरिखाने खर्च पनि ।
ती तिनजनाको व्यवस्था गर्ने बितिक्कै .ससुराली गाउँबाट त झन ७ जना आउँदैछन् । तर काकालाई कामको खाँचो छैन ,उनले तिनको व्यवस्था पनि अग्रिम गरिसकेका छन ।
खाना खाइसकेपछि उनीहरुको लागि भान्छा कोठामै सुत्ने व्यवस्था भइसकेको छ । आफ्नै जेठो हजुरबाउको छोरो भएपनि धनेलाई आफ्नो मान्छे हो जस्तो बलरामले गर्दैनन् । उसो त उसले पनि तेतिका वर्ष कतार बसेर फर्किदा अनि जाँदा कहिले पनि पसेन काकाको तिर । गरि खाओस भनेर बलरामले उसलाई काठ्माडौं बोलाएका थिए । काकी माइत गाकोबेला परेछ । उनीहरुले खासै मिठो खान पाएनन्।
विदेशी ब्लाङकेट ओडेर ३ जना गुनुगुनु गर्दैछन सुतेका छन् ।
बमे एकछिनमै घुर्न सुरु गरिहाल्छ । कुनामा सुतेको बमेलाई खानाले मात लागेजस्तो भएर निदाइसक्यो ।
रन्जिते पनि छेउतिर भएर होला धनेलाई पिठ फर्काएर कोल्टे फेर्छ । तर धनेलाई निन्द्रा पर्दैन । ऊ उत्तानो परेर केके कुरा मनमा खेलाइरहेको छ ।
बत्ति बलेको देखेर काका आउँछन अनि भन्छन् ”ल केटा हो ऐले चाँडै सुत भोलि बिहानै सातै बे पुग्नुपर्छ फेरि मलाई अफिस जान ढिला हुन्छ “।
हस काका भनेर धने ब्लाङकेटले टाउको छोप्छ ।
काका बत्ति निभाएर आफ्नो कोठातिर लाग्छन् ।

Comments
Post a Comment