अनि तिम्रो र मेरो सम्बन्ध ? (कथा)



“के भयो ? किन यति उदास ? सञ्चो छैन ?”एकै सासमा उसले प्रश्नको वाण तेर्सायो । कति धेरै प्रश्न उसको आँखामा ? साँच्ची नै गारो भईरहेको थियो मलाई , खै कसरी थाहा पायो उसले ।

परिक्षा हलबाट म सिधै बसपार्क हान्निएको थिए उसलाई भेट्न ।
कस्तो अचम्मको भावनामा बगेको थिए म आफै छक्क पर्छु ।
कति व्यग्र थिए म उसलाई भेट्न, उसलाई भेटे सबै पाए जस्तो आभाष भयो ।
थकित अनि गलेकी म उसको अनुहारमा देखिएको चिन्ताले झनै च्याप्यो अनि हासो निकाल्दै भने “केही भएको छैन ”।
“ल हिड खाजा खान जाम तिमीलाई गारो भाछ ” हातमा समाउदै उसले नजिकैको खाजाघरमा लग्यो।
चारवटा कुर्सीले भरिएको टेबल चार ठाउँमा मात्र देखिन्थ्यो ।
तीमध्ये नै हामीले कुनाको टेबल रोज्यौ । “ल भन त किन मलाई बोलाएकी ?” बस्न नपाउदै उसको प्रश्नको प्रहार फेरि आयो । म हाँस्दै उसलाई हेरे ।
तर ऊ साँच्चीनै व्याकुल देखिन्थ्यो । उसको हेराईमा डरले घेरेका हजारौ प्रश्न म चुपचाप पढिरहेको थिए । थाहा छैन फेरि यहि आत्मियताले उसलाई हेर्न पाउछु या पाउदिन म आफै अन्योलमा थिए । एकछिन केही नबोली उसलाई हेरिरहे ।

म सम्झन्छु ऊ सँगको पहिलो भेट । त्यो भेटमा ऊ अरु कसैसँग थियो ।
यस्तै साथीभाईको जमघटमा भेटेको थिए उसलाई ।
त्यो दिन उसँग बोलेको थिइन तर उसको आँखाको चन्चलताले मलाई उसको नजिकको साथी बन्ने निम्तो दिएको थियो ।

त्यसपछिका दिन पनि खासै उसँग भेटेर कटेका होइनन् ।
व्यस्त समयलाई मैले छाटेर साथीभाइकै जमघटमा उसलाई भेट्ने गर्थे ।
उ अचम्मको मान्छे हो भन्ने छाप छोड्दै गयो ।
धेरै नबोल्ने ऊ घनिष्टता पनि धेरै नै सोचेर कायम राख्दोरैछ त्यो कुरा पछि पछि थाहा पाए जब उसँग च्याटिङ्ग हुन थाल्यो ।
च्याटिङ्गमा पनि उ थोरै कुरा गथ्र्यो तर सधै बोल्थ्यो ।

ऊ छोटो समयमा धेरै नजिक भएको थियो ।
आत्मियताको नाताले हामीलाई दिन दिनै नजिक गराउदै थियो ।
म अहिले पनि हातका औलामा एक एक गरि उसँग भेटेका पल गन्न सक्छु । कति थोरै पल थिए ऊसँग बिताएका ।

तर पनि आत्मियताले बाँधेका । उसको गर्लफ्रेण्डलाई पनि भेटेको थिए त्यहि भेटहरुमा ।
ती दिनहरुमा ऊसँगको घनिष्टतामा यति खुशि थिए कि उसको साथी हुनुनै काफी थियो मलाई ।
तर आज ऊ हजारौ पटक मसँग सँगसँगै बसेको छ , जुठो खाएको छ , हात समाएर कैयौं यात्रा गरेको छ ।

आज यति गहिरो घनिष्टतामा हामी छौं कि शायद यहि घनिष्टताले मलाई कमजोर बनाएको छ । म यहि घनिष्टतालाई रोक्न आज उसको अगाडी चुपचाप बसि उसलाई हेरिरहेको छु । थाहा छैन कहाँबाट सुरु गरु अनि के भनेर सुरु गरु ।
“मलाई रिस उठिसक्यो , किन चुप लागेको ? ” उ अलि चर्किएर बोल्यो । म झस्किए । मेरा आँखाबाट आँसु खसे अचानक । शायद उसको रिसाएको बोलीले गर्दा होला । उसलाई थाहा छ मलाइ गाली गर्यो या रिसाएर केही भन्यो भने म रुन्छु भन्ने । मेरो आँखामा आसु देखेर उसको अनुहार पनि मलिन भयो । उसले केही भनेन ।

उसले रोटी तरकारी अर्डर गर्यो अनि चिया पनि ।
ऊ निराश हुँदै भन्यो । “अब त केही बोल , तिमीलाई यस्तो हालतमा देख्दा मलाई के भइरहेछ तिमी सोच्न पनि सक्दैनौ । मलाई यति अप्ठेरोमा नपार ।
तिमीलाई थाहा छ म तिम्रो अनुहारलाई पढ्न सक्छु , तिम्रो अनुहारको चिन्ता मसँग साट ”। उसको अनुहार अध्यारो भएको थियो । के भन्छे कुन्नी भन्ने डरले पोतिएको थियो ।
मैले लामो सास फेरे अनि भने “कैले बिहे गर्छौ ?” “मंसिर या पुषमा” उसले उत्तर दियो ।
“मंसिर या माघमा भन पुषमा बिहे हुँदैन” मैले उसको अनुहारको धमिलो रंगलाई हेर्दै भने ।
 “होर मलाई थाहा थिएन । तेसो भए मंसिरमा नभए माघमा हुन्छ होला ”।
एकै चोटी हजारौ कमिलाले टोकेजस्तो भो ।
दुखाइले नि आफ्नो सिमानालाई नाघेर गएजस्तो ।

“अनि तिम्रो र मेरो सम्बन्ध ?” मैले कठोर भएर प्रश्न तेर्साए ।
मलाई थाहा छ आज म यो विना अर्थको नाताबाट पर जानुपर्छ ।
आज पनि म भावनामै बगे भने कतै सुकेर जान्छु ,समुन्द्रसम्म पुग्दिन ।
ऊ मलाई हेरिरह्यो, केही बोलेन ।
“हेर अब हामी भेट्न छोडौ, समय बित्दै जान्छ , टर्दै जान्छ भन्ने तिर नजाम ।
पछि यसले भयानक रुप लिन सक्छ ।
आजै सजग बनौं । तिमी त अर्काको देशको मान्छे , न तिमीले मेरो सिमानामा आएर बस्ती बसाल्न सक्छौ न म नै तिम्रो संसारमा अटाउन सक्छु ।
हेर आज हामीले साचेनौ भने भोली हामी झन धेरैनै दुखि हुनेछौ ”।
म यस्तै बर्बराइ रहे ।
ऊ लामो सास फेर्दै भन्यो “हो केही त गर्नैपर्छ तर के गर्नु ? म तिमी बाहेक केही देख्दिन ।
म तिम्रो आँखा अनि अनुहारबाट थाहा पाउछु तिमी भित्रको हरेक गतिविधि ।
तिमीलाई देखेपछि म पुरा भएको आभाष पाउछु । तिमीनै हौ यसले यो सारा संसारले नदिने मिठो माया दिन्छौ मलाई । तर म बाँधिएको छु आफ्नै जिवनको कहानीसँग ।
मलाई थाहा छ मैले कसलाई बिहे गर्नुपर्छ भनेर तर किन मेरो मनले तिमीलाई खोज्छ थाहा छैन् । हो हामी दुवैले संयमका साथ यो पिडा सहनुपर्छ ।
म नैतिकताले बाँधिएको छु । मलाई यो समाज, परिवार अनि आफन्ती कोई नचाहिने भएको भए कस्सम म तिमीलाई कतै टाढा लिएर जाने थिए ।
तर यथार्थ यस्तो छैन । मलाई मेरै नैतिकताले आज बाँधेको छ ।
फेरि के थाहा आज कसैलाई लत्याएर तिमीलाई अपनाए भने भोलि तिमीलाई पनि लत्याउन सक्छु कि ।
यो समयमा मलाई धेरै गारो भएको छ , म हेर्छु तिमीलाई अनि सोच्छु तिमीमा मलाई पुर्ण बनाउने गुण छ अनि व्यवहार पनि । तर पनि म विवश छु ”। ऊ बर्बरायो यसरी नै ।

भर्खरै आएको रोटी तरकारी देखाउदै भन्यो “खाउ तिमी भोकाएको छौ” ।

मैले रोटीको टुक्रामा चनाको तरकारी राखेर पहिला उसलाई खुवाए, उसले पनि मलाई खान दियो । मैले उत्तर पाएको थिए ।

ऊ विवश छ अनि लाचार पनि । मैले उसलाई कुनै दुविधा दिइन ।

मात्र यति भने अब म तिमीलाई आत्मियताको घेरा भन्दा टाढा राखुला। तिमीलाई भेट्ने व्यग्र चाहना भए बरु अरु कसैलाई भेटुला तर तिमीलाई भेट्ने छैन ।

यति भनेर काउण्टर तिर लम्किए ऊ पछिपछि आयो । मेरो पर्स व्यागमा राखिदिदै उसले पैसा तिर्यो ।
साँझ झमक्कै परेको थियो म गाडी कुर्दै थिए ।

उसले भन्यो “भोलिदेखि मभित्रको म ले तिमीभित्रको तिमीलाई कैले भेट्न पाउनेछैन ” यो वाक्यले मलाई सोहोरेर अन्तै संसारमा लग्यो । मेरो आँखाबाट पानीको वर्षा भयो , म केही बोल्न सकिन ।

गाडी आयो म चुपचाप गाडी चढे उसलाई हेर्दै नहेरि ।

रेश्मी लामीछाने

Comments

  1. कथा अलि अपुरो भयो कि जस्तो लाग्यो नि जे होस राम्रो छ ।

    ReplyDelete
    Replies
    1. हस धेरै धेरै धन्यवाद हजुर ।

      Delete

Post a Comment