ट्वीट...........
“एकादेशको शहरमा हैन राजा,
जातियविभेदको यहि साम्राज्यमा हाम्रो घर बनाऔं ।
ताकि आउने पिढिले एकादेशको कथा नभनोस ।
हाम्रो कथा भनोस ।
वास्तविक कथा ।”
“आज ट्वीट गर्या रैछ नित । ”
उसको मेसेज आयो ।
“कुन ट्वीट ?” मैले सोधे ।
उसले कपी पेस्ट गर्यो ।
“कस्तो छ ? ” मैले प्रश्न गरे ।
“ठीक छ । ” उसले उत्तर दियो ।
“साप्ताहिक, नयाँपत्रिकामा छापिने जस्तो छ है । ”
उसको मनमा के कुरा खेलेको थियो थाहा थिएन तर उसले केही असहज महसुस गरेको थियो ।
त्यही भएर मैले कुरालाई पत्रिकामा लगेर जोडे ।
म किन यति भोको छु उसको मायाको ?
म आफुलाई नै थाहा छैन किन वास्तविकतालाई बिर्सिन्छु ?
“ तिमीले यस्तो ट्वीट गर्दा मलाई पोल्छ डियर, तिमीले आश गरिरहेको छौ कि जस्तो लाग्छ । ”
मेरो मन झनै चिसिन्छ अनि लेख्छु “सोच न डल्लीले पत्रिकामा छाप्न लेखेकी भनेर, भैगो त, मेरो मनसाय तिम्रो मन पोल्ने होइन ”
कता न कता पुगेजस्तो, एकै झट्कामा सात समुद्र पारि पुगेजस्तो ।
माया अनि सम्बन्ध किन फरक भैदियो यो संसारमा?
उसले केके सोच्यो थाहा छैन तर मैले धेरै थोक सोच्न भ्याए केही सेकेण्डमै ।
जिवन उसको नाममै बिताउने अठोटमा हिडेकी मलाई आज किन यो कुराले पोल्यो ?
म किन आज आफ्नो मायाको बदला दुरुस्तै माया खोजिरहेकी छु ?
मलाई उसँग बिताएका सबै समय अनि घटना एक एक गरि किन याद आइरहेका छन?
म आफुलाई एउटा बोझ मात्र देखिरहेकी छु उसको नजरबाट ।
मन भक्कानिन्छ , आँसु कुनबेला देखि पग्लिएर बगिरहेको रैछ भन्ने पनि पत्तो भएन ।
मलाई किन किन आफुदेखि रिस अनि दया एकैचोटी पलाएर आउँछ ।
मायाको भोकोमा भेटिएकी आफैलाई दया लागेर आउँछ । फेरि आफ्नो जिद्धि कै लागि मात्र उसको साथ पाइरहेकोमा आफैदेखि रिस उठेर आउँछ ।
उसलाई सताएको याद आउँछ ।
म ऊ बिना बाँच्न सक्दिन भन्ने उसलाई थाहा छ ।
मैले केहि राम्रो भएकाे देख्न चाहने उसलाई म आफैसँग जिवनभर रहिरहोस भन्ने चाहदोरैछु ।
उसलाई कति गारो हुन्छ होला भन्ने हेक्का सम्म नहुने मलाई किन आज उसको एउटै कुराले छाति पोलिरहेको होला ?
आज मलाई उसँग गफ गर्न गारो भयो या भनौ गफ गर्न मन लागेन ।
उसँग अब मैले उसको जिवनबाट बिदा लिनै पर्छ भन्ने निधो गरे ।
“ अब सुत्छु, निन्द्रा लाछ ” आँखाबाट अचानक आँसुले फेरि धारो लायो ।
“ यति चाँडै ? ” उसले प्रश्न तेर्सायो ।
“ उम थाकेको छु, सुत्छु ”
उसको रिप्लाई नआउदै गुडनाइट भनेर मेसेज छोडे ।
“ आज यति मात्र ?
उसको यो प्रश्नले मलाई एकै सेकेण्डमा लाटो, बैरो, अन्धो, बनायो ।
म बेहोसिए, कताकता पुगेर फेरि च्याट रुममा आए ।
उसले बाई लेखेको थिएन, मेरो मेसेजको आशामा बसेको थियो सायद ।
घुक्कघुक्क गर्दै उसलाई मायालु चम्बन पठाए ।
थाहा छैन ऊ खुशी थियो या दुखि तर सन्तुष्ट भने पक्कै थिएन ।
अनि प्रतिउत्तरमा “ भयो जबरजस्ती माया नदेऊ, मागेर पनि के लिनु ? ”
“ ल सुत अब तिमी, म पनि थाकेको छु सुत्छु । ”
मैले हस सँगै बाई भने ।
आज उसको बाइ मात्र आयो । प्रतिउत्तरमा केही आएन ।
जिवन खै कस्तो मोडमा पुग्यो ?
म कहाँ पुगे ।
फर्केर हेर्छु, उसलाई उत्तिकै चाहेको पाउँछु ।
जति जति टाढा हुन खोज्छु, त्यति नै व्यग्रता उसलाई भेट्ने हुन्छ ।
आज उसका शब्दले किन हो किन मलाई एकदमै कठिन बनाए ।
म निन्द्राबाट व्युझिए जस्तो लाग्यो ।
यति धेरै मनमा कुरा आज जति कहिले खेलेकै छैनन ।
के साँच्ची म उसलाई अन्धो भएरै हेरे ? कि बैरो भएर सुने ? कि त
लाटो भएर बोले ?
यदि यस्तो गरिन भने मैले किन उसको आसय बुझिन ?
उसले जस्तो माया मैले किन गरिन ?
किन उसले जस्तै वर्तमान अनि भविष्यलाई अलग राखेर चाहिन ?
किन उसले जस्तै भविष्यमा अरुसँगै हुन्छु भन्ने जानेर आज उसलाई चाहिन, उसले जस्तै ?
आज मेरा आँखाबाट बगेका पानीका धारा अनि मुखबाट बारम्बार आएको शब्द... “ किन आयौ मेरो जिवनमा किन ? ”
मुखमा कपडा कोचेर रुँदै आफैसँग झगडा गर्दै उसलाई भुल्ने निचोड निकाल्दा म बेहोसी हालतमा थिए ।
थाहा छैन कुनबेला सुते ।
आँखा पोलिरहेका थिए । उठेर घडी हेर्दा बिहानको ३ बजेको थियो ।
हुत्तिदै बाथरुम गए ।
सिसा हेर्दै मुख धोए ।
कठै कति माया लाग्दि भाकि ।
बट्टामा राखेको साबुनले मुख धोए ।
तौलियाले मुख पुछ्दै बाहिर निस्किदा नराम्ररी लडे ।
उठ्न खोज्दा फेरि लडे ।
कठै म, के बेहोसी पारमा हिड्या होला ।
कौसीतिर लाग्दै रैछु र पो, चेनगेटले धन्न बचायो ।
उसलाई भुल्छु भनेकी मैले उसकै प्रोफाइल हेरेर बसेको पनि २ घण्टा बितेछ ।
के सोच्छ यो मन केही थाहा छैन ।
आफ्नै घर पनि बिरानो लाग्यो एकै रातमा ।
कोही नभाको टुहुरी भाकी थिए एकै रातमा ।
ऊ बिनाको खाली जिवन, अनि सुन्य शहर बन्यो एकै रातमा ।
म तिनै गल्लीमा हिडिरहेकी छु जहाँ म देख्छु मेरो हिजोको म उसँगै मस्त गफिदै, मुस्कान फिजाउँदै हिडिरहेकी छु ।
म ठोकिन्छु आफैसँग तर ऊ मलाई देख्दिन । उसको मुस्कानमा न कुनै कमि आयो ननै उसका दन्तलहर बन्द भए । ऊ देख्दै नदेखि, नचिनेजस्तै गरि आफ्नै संसारमा मस्त हुँदै गफिदै अघि बढि ।
म आफैलाई देखेर तर्सिए, तर बोलाउन सकिन , मोबाइल खोसेर उसको कल काट्न सकिन, न नै उसलाई सम्झाउन सके ।
बस, एउटा हातमा ब्याग अनि अर्को हातको आडमा मोबाइलमा गफिदै जाने आफुलाई पर पुगुन्जेल हेरिरहे ।
कसैले तिघ्रामा कोट्यायो ।
तल हेरे, एकातिर कम्मरमा सानो १ बर्षजतिको नानी च्यापेकी ८ बर्ष जतिकी फुच्ची सिँगान पुछ्दै त्यहि हातले मेरो तिघ्रा कोट्याउदै रैछे ।
के मागेकी थिइ ? भोक लागेको थियो कि तिर्खा ? बा आमासँग छुटेर अलपत्र भाकि थि कि ? बोल्न नसक्ने लाटी थि या कान नसुन्ने बहिरी ?
मैले ब्यागको खल्तीबाट २० रुपैँया झिकेर दिए ।
उसको अनुहारमा केही पनि पाइन । पैसा पाएर ऊ न खुशी थि न दुखी ।
मौन अनुहार लाएकी त्यो फुच्चीलाई एकैछिन पनि रोकिएर नहेरि म फटाफट अघि बढे हरेक गल्लीमा ठोक्किन आउने आफैलाई हेर्दै ।
रेश्मी लामीछाने


Comments
Post a Comment