हो तिमी मेरो कोही होइनौ तर ......(कथा)




धेरै दिन मैले यो विदेशी सैयामा जिवनका अर्थहिन दिनहरु बिताइसकेको छु । 

अझैपनि थाहा छैन यो पोल्ने ओछ्यानलाई मैले कहिलेसम्म अँगाल्नुपर्ने हो ? 
मैले भोगेका मेरा जिवनका दिनहरु गनि गनि सम्झिने समय पाएको छु अहिले । 

मेरो बाल्यकाल, मेरो घर अनि परिवार, मेरा छिमेकी, मेरा सिँगान पुछ्दै सँगसँगै दोडेका साथीहरु, मलाई गिज्याउने छिमेकी थोते बा, मलाई काक्रो चोर्यो भन्दै कान्ला कान्ला दौडाउने शिवे दाई सारा आज मेरा आँखा वरिपरि छर्लङ्ग आईरहेका छन् । 


ओहो यी सारा कुरा सोच्ने र सम्झने त मेरो फुर्सद नै थिएन कि के हो ? 
यतिका वर्ष यो जिवनलाई भोग्दै आइरहेको म सायद डुङ्गाजस्तै भएछु क्यार, हिड्दैछ पाइला मेट्दै छ भनेजस्तै । 


जुन दिन मेरो रफ्तार रोकिएको थियो त्यो दिन यहि बिरानो ओछ्यानलाई मैले पहिलो पटक भेटेको थिए । 
म रहरले होइन नि तातो घाम खान यो बिरानो देशमा आएको । 
मेरा धेरै बाध्यताहरुले घचेटी घचेटी मलाई यहाँसम्म ल्याएर थन्काएका हुन् । 

कठै मेरी आमा सुक्क सुक्क गर्दै रातो अक्षताले मलाई पुजेर पठाएकी थिइन् । 
कठै मेरा बा मुटु दरो बनाउदै आँखा राताराता बनाउदै “घरको दुख अनि बुढा बाउआमालाई नभुलेस छोरा” भन्दै ढाँढमा थपथपाएका थिए । 


उफ कति सकस भाको मलाई त्यो दिनको सम्झनाले । 

गाउँबाट शहरसम्म पनि मेरो साथमा कोहि आएन । 
बिचरा गलेका बाउआमा कसरी आउन ? अरु त को नै थियो र मलाई ढाढस दिने ? 

दिदी पनि ४ वटी भान्जीहरु पाएर दुखी भएर माइत पनि आउन छोडेकी थिइन् । 
२ वर्षदेखि भाई पनि निहुँ खोजेर घर छोडेदेखि आजसम्म पहुँचमा आएको छैन् । 

म पढेको नौजवान पनि आज पराईको गुलामी गर्न यहाँ आएको छु । 
त्यो एयरपोर्टको सम्झना अझै पनि मलाई छ जहाँ म जस्ता कति थिए कति । 
आँसुका धारा बगाउदै आफ्ना प्यारा मान्छेलाई बिदाई गर्नेको ताँती पनि कति थियो कति । 
यहाँ आएपछिका मेरा दिनहरु कठै कति दयनिय अवस्थामा गुज्रेका छन् । 

मलाई मेरा नेपाली दाइभाइले नि खै किन हो खासै मायादया देखाएनन् । 
नेपालमा हुँदा त सुनेको थिए कि विदेशमा पुगेपछि त नेपालको मान्छे भनेपछि सातकोस परसम्म पनि चिन्छन रे अनि भाइबन्धुको भावना त सबैमा हुन्छन रे । 

तर खै म मात्र अछुतो भए कि के हो यी सबैबाट । 
म एक्लो मान्छेलाई आजसम्म यो अस्पतालमा गनेर ३ जना मेरा साथी आए होलान् । 
तर यो बिरानो ठाउँमा थाहा छैन किन एउटी अपरिचित महिला मलाई दिन बिराएर भेट्न आउछिन अझै थाहा पाएको छैन । 

बिरामीले मसरुम सुप खानुपर्छ भन्दै ऊ जहिले पनि मेरो लागि खानाको साथमा मसरुम सुप लिएर आउछे । 

खै कस्तो जादु छ कुन्नी उसको हातमा म जहिले पनि तृप्त हुन्छु । 
उसले चुपचाप मेरो लागि गरको सेवालाइ म सहर्स स्वीकारिरहेको छु । 
यसो नगरु पनि कसरी? मलाई ख्याल राख्ने पनि त कोही छैन नि यो बिरानो ठाउँमा यो बिरानो मान्छे सिवाय । 
अति व्यस्त समय पनि मलाई खर्चेकी छे उसले । 
ऊ थोरै बोल्छे तर मलाई कस्तो छ के खान मन लागेको छ यस्ता कुराहरुमा ऊ धेरै नै ख्याल राख्छे । 
गोरो अनुहारकी दिनाको अनुहारमा चमक त खासै छैन र पनि उ मायालु स्वभावकी छे । 

आमाको झझल्को बोकेकी ऊ मलाई अचेल आफन्त जस्तै लाग्छे । 
उसका हरेक गतिविधिमा व्यवहारिकता लुकेको छ । 

अचम्म लाग्छ मलाई उसको जीवनमा चन्चलता भन्ने शब्द नै प्रयोग हुन्छ या हुन्न भन्ने कुराले । 
मैले उसलाई अस्ति चाहि सोधेको थिए कि “किन तिमी मेरो स्याहार गर्दैछौ । 
“न म तिम्रो कोही आफ्नो हु न तिमी मेरो शुभचिन्तक किन यसरी मेरो लागि तिमी आफ्नो समय बर्बाद गर्दैछौ ?” मेरो कुराले होला उसकोे अनुहार अधेँरो भयो । 

उसले लामो सास फेरि अनि बसेको कुर्सीबाट उठेर पर्दा सार्दै झ्याल खोल्दै भनि “हो तिमी मेरो कोही होइनौ तर तिम्रो यहाँ अरु कोहि पनि त छैन नि, हो म तिम्रो शुभचिन्तक त होइन तर तिमीलाई यहाँबाट चिन्ता मुक्त गर्ने पनि त कोहि छैन नि । मानवताको नाता जात,धर्म, भाषा, देश सबै देखि टाढा छ । म मेरो आत्मा सन्तुष्टिको लागि तिम्रो सेवा गरिरहेकी छु ताकि भोलि तिमीले पनि कुनै अपरिचितलाई तिम्रो जस्तै अवस्थामा भेट्यौ भने तिम्रा साथीले तिमीलाई छोडेजस्तै छोड्ने छैनौ बरु मैले जस्तै सेवा गर्नेछौ । ”

उसका आँखा रसाएका थिएनन बरु उसको आँखामा जिम्मेवारी बोध मैले धेरै देखिरहेको थिए । 
ऊ कस्ती अचम्म कि नारी थिइ । उसलाई कसको कर थियो र एउटा कोहि नभएको बिरामीको सेवा गर्न तर उसले आफु मानव हुनुका कर्तव्य पुर्ण रुपमा पुरा गरिरहेकी थिइ ।
मैले मन मनमा सोचे जुन दिन म यो सैयाबाट उठ्छु त्यो दिन म धन्यवाद सहित दिना लाई विशेष उपहार दिनेछु । 

हिजो पनि दिना आई अनि मलाई सधै झै आफ्नो सहयोगले खुशी तुल्याएर गई । 

तर आज ऊ आएकी छैन किन हो ?

हिजो जानेबेला धेरै कुरा सम्झाएर गएकी थिइ । “अब देखि मेसिन जतनले चलाउनु । पैसा कमाउन आएका छौ ज्यान गुम्ने काम कदापी नगर्नु । सहयोगको भावनालाई मर्न नदिनु, आफ्ना मान्छे अनि आफ्नो कर्तव्य कहिल्यै नभुल्नु ।”
 मैले पनि ज्ञानी बच्चाले झै टाउको हल्लाएको थिए । भन्न त मन थियो “दिना तिमी किन मलाई यसरी सम्झाउदै छौ ? भोलि त आइहाल्छौ नि किन यति धेरै मेरो चिन्ता गर्छौ ?” तर म अवाक थिए । 
तर उसले आज यहाँ उपस्थिति नजनाउँदा शंका लाग्दैछ । 

मोबाइलमा मेसेजको रिङ्ग बज्छ ।

दिना को मेसेज “ म आज आफन्तीको घरमा आको छु यहाँ कसैले थाहा नपाउने गरि सानो चर्च राखेका छौ । हामी बेला बेला यो चर्चमा प्राथना गर्छौ । आज मेरी आमाको आत्माको चिरशान्तिको प्रार्थनाको लागि आको । हुन त तिमीलाई भन्न भुलेछु , मेरी आमा बितेको १० वर्ष बितिसक्यो तर पनि म सधै आमालाई सँगै पाउछु । तिमीलाई यो कुरा अचम्म लाग्ला मेरी आमा तिमीलाई राखेको हस्पिटलमा बित्नु भएको थियो । अझै अचम्म को कुरा यो पनि छ तिमी सुतेकै सैयामा वहाँको स्वर्गवास भएको थियो । मैले एकमात्र मेरी साहारालाई ब्लड क्यान्सर बाट जोगाउन सकिन तर त्यस उपरान्त त्यस हस्पिटलको त्यो विशेष सैयामा मैले जस्तो सुकै रोगीलाई पनि मर्न दिएको छैन । अनि तिम्राे सेवामा पनि कुनै कमी नपुर्याउने कोसिस गरिरहेकी छु । म भोलि हिजोकै समयमा आउछु । ”

म छक्क पर्छु कोही मानवताको भावना अनि आफ्नो मान्छेको सम्झनामा यति सम्म पनि गर्न सक्छ । 

मेरो लागि हस्पिटलबाट मसरुमको सुप आयो । 
मैले चाखे मिठो थियो तर दिनाको हातको जस्तो होइन । 

रेश्मी लामीछाने


Comments