ल १० रुपियाँ मात्र? (कथा)


“कोटेश्वर भक्तपुर एयरपोर्ट..... ल छिटो छिटो चढ्नुस, गौशालामा खाली हुन्छ । 
अलि बीच बीचमा मिलेर बस्नुस है गौशालामा खाली हुन्छ । ”
“ओ भाई के सारो पेलेको? मेरो खुट्टा त्यसरी नटेक त ।” 
“सरी दिदी खलासीले धकेलेर हो ।” 

गज्याङ्गमज्याङ्ग हल्ला भएकोले म ब्युउझिन्छु । 
गर्मी छ, दिउँसै निन्द्रा लाग्छ । 
के सारो झन्झटिलो भाको यो काठ्माडौंको यात्रा । 
कति उकुसमुकुस भाको यो गाडीभित्र । 
गर्मी त्यस्तै छ, धुलोले धुलाम्मै पारेको छ, मान्छेको जिउको गन्धको त कुरै नगरौ ओहो के सारो सास्ती खेप्नुपरेको हरे शिव । 

अहिले काठ्माडौंमा बस्नेको जिवनशैली नै फेरिएको छ । 
बिहान घरबाट जुन जोस अनि जाँगरमा मान्छेहरु निस्केका हुन्छन , बेलुका घर पुग्दासम्म जोस जाँगरले ३ निन्द्रा पुर्याइसकेको हुन्छ । 
सडकका पेटीहरु बिहानको ६ नबज्दै भरिएका हुन्छन् । 
स्कुल, कलेज जाने विधार्थीहरुको खचाखच सधैको उस्तै हुन्छ । 
बिहानको ८ बजेबाट अफिस कार्यालय वा निजी व्यवसायका लागि हिड्नेहरुको घुइँचो सुरु भइसकेको हुन्छ । 
यो भिडभाड र ठेलमठेल ले लाग्छ सार्वजनिक सवारी साधन चलाउनेलाई जति उभो कसैलाई लगाएको छैन । 
यस्ता बेफुर्सदी जीवन बिताउने यात्रीहरुले कैयौं महत्वपुर्ण समयलाई जस्तै भिडहरुमा गुज्मुजाएका छन् । 
भत्केको बाटो, अव्यवस्थित सडकपेटी, अनावश्यक सडकपेटीमा राखिएको फुटपाते पसलहरु, गल्लीका साँघुरा बाटोमा अड्किएका रिक्साहरु, सार्वजनिक स्थानमा बेमतलवका भिडभाड आदि इत्यादीले यो काठ्माडौं सहर झन भन्दा झन कहाली लाग्दो हुँदै गइरहेको छ । 

विकासका बाटो पहिल्याउदै गरेको हाम्रो देश बेढंगबाट सुरु भएर ढंगको बाटोमा लम्किन खोज्दा जैले पनि झन झन नाजुक स्थितितिर धकेलिइरहेको छ । 

“विकासको पुर्वाधारमध्येको यातायात पनि एक महत्वपुर्ण पुर्वाधार हो । 
कुनै पनि ठाउँको विकास हुन पहिले त्यहाँ यातायातको सुविधा पुगेको हुनुपर्छ ” भनेर त सबैले सानो बेलादेखि सुन्दै आएको कुरा हो । 

तर व्यवहारको कुरामा सायद सम्बन्धित पक्षनै चुकेको हो भन्ने कुराको अड्कलबाजी त ऐले हरकोहीले लाउन थालिसकेका छन् । 
यसको लेखाजोखा गर्न थालियो भने झनझन विरक्त लाग्छ । 
म त एक साधारण व्यक्ति हुँ । 
मलाई बस मेरो आफ्नो जिवन सुधार गर्नुछ । 
अफिसमा सधैं ताजा तथा स्फुर्त रुपमा काम गर्नु छ । 
किनकी दिनदिनैको यो धुलो धुँवा, भत्केको बाटोघाटो, पानीको पाइपलाइन, बिजुलीको पोल, साँघुरो बाटो, सडकपेटीलाई साघुँरो पारेका फुटपाते पसलहरु, अनावश्यकको कोलाहलबाट मैले नैराश्यता मात्र पाउँछु । 
सबै पक्षको व्यवस्थापन गर्ने काम त राज्यको हो । 
म त एक साधारण व्यक्ति हुँ । 
मैले त मेरो जिवन जिउँन पाउनुपर्छ ।  
म राष्ट्रियताले ओतपोत भएको साधारण व्यक्ति अहिले थोरै असाधारण बन्दै गइरहेको छु । 
मलाई हिजोसम्म लाग्थ्यो युवा यो देशको कर्णधार हो किनकी सानोबाटै स्कुलमा यहि भनि रहने भएर पनि होला । 

तर आज मैले स्कुल पनि छोडे अनि कलेज पनि छोडिसके । 
छोडिसके नभनौं पास भएर सर्टिफिकेटको चाङ बनाएर राखेको छु । 
कति फरक दुनियाँ छ यो भिडभाडमा म छक्क पर्छु । 
किन स्कुल कलेज ले मान्छेले खचाखच भरिएको बसको यात्रा गर्नुपर्छ भनेन ? 
किन भत्केका बाटोहरुमा ढुंगासँग ठोक्किर झस्किुनपर्छ भनेन? किन ५०० मिटरको लामो लाइनमा बसेर लोकसेवाको फर्म भर्नुपर्छ भनेन? किन पर्स हेर्दै मन परेका सामानलाई आँखा तर्नुपर्छ भनेन? किन भाइचारा अनि आफन्तवादको मनोमानी चल्छ भनेन ? उफ्फ कति निस्साइएर, पिल्सिएर बाचेको यो जुनी । कस्तो भ्रमित संसार? 
म एक साधारण व्यक्ति, जसले सपनामात्र देख्न मात्र सिक्यो । 
त्यो सपनाको संसारमा पुग्न भत्किएको अनि काँडेतारले जेलेको,चुच्चे धारका ढुंगा तेर्सिएको कथा कैले पनि सुन्न पाएन् । ओहो मेरो भाग्य , ती कुरा थाहा पाएको भए आज यो भिडमा कहा रुमल्लिन्थे होला र? 
यति त मेरा बाले पनि थाहा पाएका भए वनको काठ काटेर बजारमा बेच्न जान्नथे होलान् । 

कठै ती रुखलाई नै जतन गर्थे होलान भोलिपर्सि मेरा सन्तानले यहि रुखको घाँस खुवाएर पालेको जर्सि गाईको दुध खानेछन भनेर । अरुको पसिना सुघ्दै, आफ्नो अरुलाई सुघाँउदै मच्चिमच्चि गाडीमा उफ्रिनुपर्छ भन्ने के थाहा थियो र ? त्यसतरी आफ्ना भाँडाकुटी खेल्ने, खोलाखोला माछा मार्दै पल्लो गाउँसम्म पुग्ने, पिसाब आयो भने पनि साथी गइदिने साथीको साथ छोडेर नत्र त को पढ्थ्यो त? ओहो मेरा साथीहरु मैले तिमीहरुलाई पढ्ने बेला भुलेको रैछु । 

ऐले चिन्नु न जान्नुको मान्छेको गन्हाउने साँस सुघ्दै ढिकिच्याउ गर्दै गाडीमा मच्चिदा त कस्सम आँखानै राता हुन्छन् । बरु तिमीहरु सँगै गाइभैसी चराएको भए ऐले तिमीहरु सँगै निचिक्क हास्दै बात त मार्दै गरेको हुन्थे होला न कि यो पातकी सहरको सिकार हुन्थे । 

ओहो यो अव्यवस्थित सहरले मलाई जिवन केहो भनेर सिकाउँदै छ कि जिउँन सिकाउदै छ म अझै भ्रम मै छु । सम्झेर हासो पनि उठ्छ कि ती गाउका भुँडे शिक्षक जो ओठको कापकापमा सेतो धर्का बस्ने गरि चिच्चाइरहेका छन के तिनीहरुलाई यो अभ्यस्त सहरको रहस्य थाहा होला त? कि तिनीहरु आफ्नो जागिर जोगाइरहेका थिए अनि जोगाइरहेका छन अहिले मैले जोगाएजस्तै ?
म मेरै शिक्षकहरु सँग आज दुखी छु । 

के उनीहरु चाही कहिल्यै आफ्ना शिक्षकहरुसँग दुखी भएनन होलान ? म जति भोकप्यास लागेपनि घरकै खाजा र पानी खान हुत्तिएर घर पुग्छु के तिनीहरु चाहि ५ रुपैयाँ नै सहि जोगाउन दौडेनन होलान ? 
साँच्चिनै म मेरा गुरुहरु अनि शिक्षालाई मान्छु । 

आखिर जस्तो होस यस्तो अव्यवस्थित बाटोमा पसिना काड्दै बाटो काट्न त सकेको छु । 
थकित नै निचिक्क दाँत देखाउन त खप्पिस छु नि । आखिर म मात्र होइन क्यारे सबै धेरै सिपालु भएका छन यहाँ गुनासो गर्दै बाँच्न । 

जसरी म बाँचिरहेको छु , शिक्षक, राष्ट्र, शिक्षा प्रणाली प्रति गुनासो गर्दै । 
किनकी म साधारण व्यक्ति त्यसैले मैले हिड्ने बाटो पनि साधारण अनि म पनि साधारण अनि परिवर्तनको खोजी अरुलाई जिम्मा लगाउँदै तर्किन्छु । 
त्यसैले त मैले सुघ्नुपर्छ अमिलो पसिना, मैले ओढ्नुपर्छ सेतो धुलो, मै हिड्ने बाटोमा हुन्छन फुटपाते पसल, मेरै स्कुलमा हुन्छन एकादेशका शिक्षक । 

किनकी म परिवर्तन गर्न नसक्ने तर परिवर्तन चाहने एक साधारण व्यक्ति । 
“कोटेश्वर कोटेश्वर.....ल कोटश्वर ओर्लनेहरु आउनुस ।”
“ल लिउ भाई भाडा..” ।  “ल १० रुपियाँ मात्र?”
“काड छ भाइ ।” 
“जो पनि आउछन काड छ मात्र भन्छन् । हामीलाई जहिले घाटा । जति पढेपनि देशका लागि केही गर्ने होइनन, हामीलाई मात्र सधैको घाटा । 

अंकल गाडी अलि अगाडी बढाम त । ”
गाडी ढकढकाउदै खलासी गाडी चढ्यो । 
म त्यसै त थकित मान्छे झनै त्यो १२, १३ वर्षको बालकले मेरो यथार्थको आगोमा घ्यु थपेर गयो । 
कसरी यस्ता कुरा गर्न जानेको होला यस्तो सानो फुच्चेले ? चर्को घाममा छाता ओढेर फेरि मेरो बटुवा जुनी लुखुर लुखुर हिड्यो । 

आज किन यो भिडमा मैले बिग्रेको, भत्केको, लडेको, ठगेको अनि सबै लथालिङ्ग मात्र देखिरहेको छु । 
के के सोच्दै जेब्रा क्रसिङ्ग कट्दैथिए, झण्डै मरिन । 
कत्ति सारो हर्न बजाउदै बत्तेको त्यो माइक्रो भ्यान, झण्डै ज्यान लगेको । 
कसो ज्यान जोगाए आज मैले । 

मैले आजसम्म नबुझेको एउटै कुरा यो कोटेश्वरको जेब्राक्रसिङ्गको काम छ कि छैन ? 
यहाँ कतिखेर बाटो काट्ने भन्ने नै थाहा छैन भन्या । 
ट्राफिकले बाटो क्रस गर भनेर सिग्नल दिन नपाउदै मान्छे गुटुङ्गगुटुङ्ग दौडेका हुन कि ? 
न ट्राफिकले कहिले पनि सिग्नल नै दिन्न ? 

“लल बाटो काटम उ त्यताका मान्छे यता आउदैछन्” केही हुलको हल्ला सँगै म पछि लागेर बाटो काट्छु । 
रेश्मी लामीछाने



Comments