तिर्खा (कथा)



पाइला कस्तो भारी भाछन आज । 
जति अघि बढ्छु त्यतिनै गतिमा कमी आएजस्तो, जति हिड्यो त्यतिनै पछाडी सरेजस्तो, कतै नमिठो व्यथाले चिमोटेजस्तो । 

अध्यारोले ढाकेको कालो बाटोलाई पछ्याउदै हिडिरहेको छु । 
कति अनौठो यात्रामा आज म हिडिरहेछु त्यो पनि नितान्त एक्लो । एक्लोपनको भयले त होनि म आज एक्लै यो यात्रामा छु । 
हजारको भिडमा भोगेको एक्लोपनले आज मलाई यहा ल्याएको छ । सबै शुन्य छ यो कालो बाटोमा तर पनि तृप्त महसुस हुँदैछ मलाई । “ऐया” कति सारो घोच्यो , ओहो काँडाले जस्तै कस्तो बिझाको यो सानो ढुङ्गाले पनि । 

ओहो यहाँबाट त खोला पो सुरु भयो त । 
कसरी तर्नु यो खोला ? यस्तो अनकंटार दुनियामा पनि हेर यो खोला कति रमाइ रमाइ बगेको छ ।
यसलाई कसैको साहारा नै नचाहिने जस्तो । साच्ची यो त नदि भेट्न पो दौडेको छ नि ।
अनि यसलाइ केको सहारा नि । यो त आफ्नो लक्ष्यको पछाडि पो छ त । 

आहा कति आनन्द छ यो खोलाको पानिमा । 
घुँडा घुँडा सम्मै पो रैछ त यसको गहिराई । सानो हुँदो हुँ त यसले मलाई बगाउथ्यो होला । 
ल यो के हुँदैछ ? पानी बढ्दैछ कि म घट्दैछु ? कस्तो अचम्म भई रहेछ यो, पानीले त छातीसम्म हैकम जमाउदैछ त । 
किन मलाई पानीले आफुमा समेट्न खोज्दैछ ? ला म त बग्न पो थाले त । 
मलाई पानीले कहाँ लग्दैछ ? म आकाशको तारा उडेर हेर्दैछु कि बगेर ? किन यस्तो अचम्म भइरहेछ ? 
पानीले मलाई कति जतनसाथ बगाएको, लाग्छ म कपास हुँ । 
मेरो शरिर कति हलुका भएछ पानीमा पनि डुब्न नसक्ने । 
कस्तो अचम्म यो खोलाको पानी मलाई उडाएर कतै लादैछ यसले । 
के यसले पनि आफ्नो धर्म भुल्यो ? मलाई बगाउनुपर्ने तर यसले उडाउदैछ किन? 
कालो आकाशका ती तारा के भएका आज ? किन गुज्मुजिएका होला एकै ठाउँमा ? 
ओहो मेरो आँखालाई केहि भयो कि ती ताराहरुलाई ? कस्तो अचम्मले खप्टिदैछन् । लाग्छ अब सिङ्गो डल्लो हुन्छ । 
ल नभन्दै त्यस्तै पो हुँदैछ त । ती तारा त सिङ्गो एउटा भयो त । साच्चीनै पहेलो डल्लो नै बन्यो त । आहा
कस्तो मिठो उज्यालो । कस्तो मधुरता यो खोलाको किनारका सेता फुलहरुका ।
मन कस्तो चङ्गाजस्तो भएको ।

ल फेरि यो के हुँदैछ ? 
आफै मेरा हातगोडामा कस्तो पखेटा पलाएको एक्कासी ?
 साच्ची म उड्दैछु त ? हो त म उडिरहेको रैछु त । 
आज कस्तो अचम्म मात्र भइरहेछ मलाई । आकाशमा उड्दा त कस्तो मिठो आनन्द पो हुनेरैछ । 
कस्तो शान्त यो संसार , यो जगतमा यस्तो आकाश पनि रैछ, मलाई त थाहै थिएन् । 

ला मेरो पखेटालाई के हुँदैछ ? 
यो किन आफै सानो हुँदैछ ? 
म अब कता खस्छु ? फेरि कहाँ पुग्छु ? त्यो रातो घरतिर पो खस्दैछु त म । 
धन्न मेरा पखेटाले मलाई न्याय गरे । मलाई आँगनमै छाडेर बिलिन भए । 
मलाई यो भुँइको स्पर्श किन प्यारो लाग्दैछ ? 
आहा यी खाली पैतालाले बर्षौदेखि नबिझाएको भुँइको माटोलाई फेरि टेक्न पाए । 
कस्तो एक्कासी प्यास लागेको ? यो बराण्डाको खाट कस्तो फुस्रो देखिएको ? कठै काठ त थोत्रे देखिन्छ ।
सालको काठको यो खाट पनि कस्तो अचम्मले मलाई स्वागत गर्दैछ । 
खाटमाथिको अम्खरा पनि मलाई बोलाउदैछ । 
“आहा” मेरो प्यासी घाँटीले कति मिठो शितल पाएको आज । यो तिर्खा वर्षौदेखि मेरो मनमा थियो कि मैले यस्तो मिठो पानी पहिल्यै पिएको थिइन ? 
म किन यो अम्खरामा कसैको माया भेट्दैछु ? 
लाग्छ यो अम्खरालाई मैले कैयौपटक हातका औलाहरुमा झुण्ड्याएको छु । 
“आहा”  यसलाई समाउदा मैले कस्तो अलौकिक आनन्द पाएको आज । 
यो घर किन खाली देखिएको ? 

त्यो को हो घाँसको भारी बोकेर यता मतिरै आउने ? 
कठै ती नाङ्गा पाउ कस्ता फुटेका ? 
ओहो कस्तो पसिना त्यो निधारमा ? 
कठै निधारबाट तरतरि चुहिएर घाँटीसम्म पुगेको पसिनाको खोलो । 
“आमा”...... कठै मेरी आमा तिमी पो ? 
लौ पानी पिउ । 
सारीको फरियाले पुछ न आमा पसिना किन खुइखुइ मात्र गर्छौ । 
आमा , आमा, किन बोल्दिनौ के तिमी ? 
आमा , आमा,..... 
दिदी , ओइ दिदी के भो तलाइ ?(मेरो कानमा गुञ्जिन्छ )
धत आज पनि पो सपना देखेछु । 
हरे ७ बजिसकेछ । लौ खा आज नि कलेज छुट्यो । 
कस्तो अव्यस्त भाको म हत्तेरी ।

रेश्मी लामीछाने

Comments